
काठमाडौँ- आज दशैंको पहिलो दिन घटस्थापना सम्पन्न भएको छ। घरघरमा जमरा राखिने परम्पराअनुसार काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा पनि बिहान जौ छरेर जमरा राखिएको हो।
घटस्थापनाको क्रममा मंगल धुन बजाउँदै बढाइँ गरेको थियो। पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आह्वान गरी पूजा आरम्भ गरिन्छ।
नवरात्रको पहिलो दिन बिहानै नित्यकर्म पूरा गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिप्पोपत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ।
जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु मानिन्छ र यसलाई विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ। घटस्थापनासँगै नवरात्र सुरु हुन्छ।