
- अर्थमन्त्री खनालले निजी क्षेत्रले सरकारको नीतिहरूलाई समर्थन गरेर आर्थिक गतिविधिमा इमानदारीपूर्वक संलग्न रहन आग्रह गरे।
- निजी क्षेत्रबाट राजस्व वृद्धि गर्दै सरकारलाई विकास र गरीबी निवारणमा सहयोग पुर्याउन आग्रह गरियो।
- भन्सार प्रक्रियामा पारदर्शिता र नियन्त्रणका लागि अनलाइन भ्यालुएसन डेटाबेस प्रणालीको कार्यान्वयन गरिएको जानकारी दिइयो।
मोरङ – अर्थमन्त्री रामेश्वर खनालले विराटनगर मुलुकको आर्थिक गतिविधिको जग भएको बताएका छन्। बुधबार दिउँसो विराटनगरस्थित एकीकृत भन्सार चौकी आइसीपीमा छलफलका क्रममा अर्थमन्त्री खनालले आर्थिक क्षेत्रको प्रारम्भ नै यहीबाट भएको बताएका हुन्।
उनले भने, ‘नेपालकै पहिलो कम्पनी विराटनगरमा स्थापना भएको हो। त्यसैले पनि यसलाई हामीले आर्थिक गतिविधीको जग भनेका हौ। त्यसैलेपनि आर्थिक गतिविधीको केन्द्रमा रहेर ब्यवसायीले बेइमानी त गर्नुहुन्न होला?’
सरकारले सदीक्षापूर्वक सुरु गरेको गतिलो कामलाई असफल बनाउने प्रयत्न यतिको नगरका उद्योगी ब्यवसायीबाट नहुने उनको भनाइ छ।
उनले भने, ‘यसप्रकारको कामलाई असफल बनाउनेतर्फ ब्यवसायीहरु अघि बढ्नुहुन्न होला। चिनीको स्थानमा चामल देखाउने, फर्निचरभित्र विभिन्न सामान लुकाउने, चुनढुंगा निर्यात गर्दा केही सामान मिसाएर भित्राउने लगायतका काम यहाँबाट हुँदैन भनेर विराटनगरलाई सफ्टवेयरको सुरुवात विन्दूका रुपमा छानेको हो।’
छलफलमा उनले निजी क्षेत्र र सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए। सरकारको आफ्नै स्रोत नभएको बताउँदै अर्थमन्त्री खनालले भने, ‘सरकार र निजी क्षेत्रले मिलेर परस्पर एकले अर्काको दुःख बुझेर सहयोग गरेर अगाडि बढ्नुपर्छ।
निजी क्षेत्रले राजश्व बृद्धि गरेर सरकारको समावेशी विकासका लागि, गरिवीनिवारणका लागि दुर्गम क्षेत्रको विकासका लागि स्रोत उपलब्ध गराउने हो। सरकारको आफ्नै स्रोत छैन। सरकारको स्रोत नै निजी क्षेत्रबाट हो।’
सोही क्रममा अर्थमन्त्री खनालले निजी क्षेत्रको विषयमा यति भनिरहँदा पक्षपोषण गरेको कसैले भने त्यो क्ुरा सहज रुपमा स्वीकार गरेर मुलुकको विकासका लागि संयमित भएर सहकार्य भएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले भने, ‘मुलुकको सम्बृद्धि र विकासका लागि एकले अर्कोको विरोध गर्ने वा गाली गरेर भन्दापनि सहकार्य गरि अघि बढ्नुपर्छ।’
त्यसैगरि, अर्थमन्त्री खनालले सामान आयात गर्दा सन्दर्भ मूल्यको आधारलाई परिवर्तन गरि वास्तविक बिलका आधारमा भन्सार लिने प्रणाली सुरु गरेका थिए।
मन्त्री खनालले पाइलटिङका रुपमा अनलाइन भ्यालुएसन डेटाबेस अनलाइन प्रणाली कार्यान्वयन हुँदा सहजता हुने विश्वास लिए। बैठकमा अर्थमन्त्री खनालले भन्सारमा नआइकन फोनका भरमा सामान भित्रिने कुरामा नियन्त्रणमा आउने प्रस्टाए।
उनले भने, ‘फोनका भरमा भन्सारबाट सामान अझ पनि खुराफाती दिमागले काम गरे पिसिएले सशक्त ढंगबाट अघि आउँछ। त्यसअघि, रिस्क इन्जिनले काम गर्छ। यसैले हाइलाइट् गरि डिस्प्ले गरिरहन्छ।’
चौकीमा अनलाइन डेटाबेस प्रणालीको उद्घाटनसँगै राजश्व चुहावट नियन्त्रणलगायत विषयमा छलफल भएको थियो। छलफलमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख इन्द्रदेव यादवसहित सुरक्षा निकाय, उद्योगी व्यवसायीलगायतको सहभागिता थियो।