
- मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनबाट क्षतिग्रस्त कार्यालय, भवन र घरहरुको अनुगमन गरी राज्यको पहल जारी राखेका छन्।
- आचार्यले आन्दोलनका घटनाको न्यायिक छानबिन गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरेका छन्।
- लुम्बिनी प्रहरीका अनुसार, आन्दोलनका क्रममा १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, र ५२ दलका कार्यालयमा क्षति पुगेको छ।
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय, व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन्।
भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिएका हुन्। यसअघि अर्घाखाँची, प्यूठान, दाङ र बाँके जिल्लामा अनुगमन गरिसकेका उनले बिहीबार भैरहवा र बुटवलका विभिन्न स्थानको निरीक्षण गरेका छन्।
अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको न्यायिक छानबिन गरेर घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन संघीय सरकारसँग माग गरेका छन।’भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ। दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्छ’, उनले भने, ‘आन्दोलनको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिलाई ध्वस्त पार्ने काम भएको छ। यस्तो अराजक गतिविधिको विरोध गर्दछौं।’
मुख्यमन्त्री आचार्यका अनुसार सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन प्रदेश सरकारले पहल थालेको छ।ञआगजनी, तोडफोड र लुटपाटका कारण सेवाग्राही र कर्मचारीको मनोबल घटेको छ। त्यसलाई पुनः उठाउन सरकारले अनुगमनलाई निरन्तरता दिएको होझउनले भने, ‘अत्यावश्यक सेवा दिन अस्थायी रुपमा टेन्ट टाँगेर भए पनि काम अघि बढाइएको छ। कतिपय स्थानीय तह र कार्यालयले सेवा सुरु गरिसकेका छन्।’
रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, नगर प्रमुख र उपप्रमुखको घर, युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेको घर, जिल्ला ट्राफिक कार्यालय भैरहवा, भैरहवा भन्सार कार्यालय, मणिग्रामस्थित वालकृष्ण खाडको निवास, ड्रिमल्याण्ड होटल, पूर्व मुख्यमन्त्री लिला गिरीको निवास, नेकपा एमाले प्रदेश पार्टी कार्यालय, इलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, प्रदेश प्रमुख कार्यलय, प्रदेश लोकसेवा आयोग, बेलबासस्थित नापी कार्यालय, मालपोत कार्यालय, यातायात कार्यालयमा आगजनी र तोडफोड भएको थियो।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार जेन९जी आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। त्यस्तै ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा पनि तोडफोड तथा आगजनी भएको उल्लेख छ।