
- जेन–जी आन्दोलनको क्रममा क्षतिग्रस्त मधेस प्रदेशका ९० प्रहरी कार्यालय अहिले पुनः सञ्चालनमा आइसकेका छन्।
- प्रदर्शनमा १३ प्रहरी कार्यालय पूर्ण र ७७ कार्यालय आशिंक रुपले क्षति हुँदा ७ करोड ३१ लाखको नोक्सानी भयो।
- मधेस प्रदेशका विभिन्न २०७ कार्यालयमा आगजनी तथा तोडफोड हुँदा ८४ प्रहरी र १२ सर्वसाधारण घाइते भए।
जनकपुरधाम- मधेस प्रदेशमा जेन–जी आन्दोलनको क्रममा आशिंक तथा पूर्ण रुपले क्षतिग्रस्त भएको प्रहरी कार्यालयहरु सञ्चालनमा आएको छ ।
भदौ २३ गते देशभर चलेको जेन–जी प्रदर्शनको क्रममा मधेस प्रदेशमा रहेको ९० वटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो । प्रदर्शनका कारण आगजनी तथा तोडफोड भएको कार्यालयहरु पुनः स्थापित भइसकेको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाका अनुसार प्रदर्शनको क्रममा १३ वटा प्रहरी कार्यालयमा पूर्ण रुपले क्षति भएको तथा ७७ वटा कर्यालयमा आशिंक क्षति भएको छ ।
उनका अनुसार प्रहरी कार्यालयमा ७ करोड ३१ लाख २२ हजार ४ सय रुपैयाँ बराबरको क्षति भएको हो । धनुषामा सबैभन्दा बढी प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित २३ वटा प्रहरी कार्यालयमा क्षति भएको थियो । यस्तै, सर्लाहीमा २०, सिरहामा १४,रौतहटमा १२, पर्सामा ११, सप्तरीमा ६, बारामा ३ र महोत्तरीमा एउटा प्रहरी कार्यालयमा क्षति पुगेको थियो ।
प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोडको कारण २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको क्षति भएको हो । प्रदेश प्रहरीका अनुसार ८ वटा चारपांग्रे र २५ वटा दुई पांग्रे गाडीमा पूर्ण रुपले क्षति भएको हो भने १४ वटा चार पांग्रे र २ वटा दुई पांग्रे गाडीमा आशिंक क्षति पुगेको हो ।
प्रदर्शनको क्रममा मधेस प्रदेशमा रहेको विभिन्न २०७ वटा कार्यालयमा आगजनी तथा तोडफोड गरिएको प्रहरीले जनाएको छ। प्रदर्शनको क्रममा ८४ जना प्रहरी र १२ जना सर्वसाधारण घाइते भएका थिए भने एक जनाको मृत्यु भएको थियो।