
विराटनगर- विराटनगर महानगरपालिका–७ मधुमारास्थित गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार साँझ साढे ६ बजेतिर छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कवित कटवालका अनुसार पक्राउ परेकासँग ९७ हजार १ सय ६५ रुपैयाँ नगद र ५ बुँद तास बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर–८ का ६० वर्षीय पदम भट्टराई, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत, भोजपुर साल्पासिलिछो गाउँपालिका–१ घर भई विराटनगर–८ बस्ने ४३ वर्षीय शंकर थापा, विराटनगर–८ का ५० वर्षीय गोपाल मण्डल, ६० वर्षीय शंकरप्रसाद ओझा, ४२ वर्षीय कपिल खड्का र मोरङ कटहरी गाउँपालिका–१ का ४० वर्षीय सन्तोषकुमार भट्टराई रहेका छन्।
प्रहरीले पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।