
मोरङ – भारतको विहारस्थित सीमाबजार जोगबनीमा शुक्रबार दिउँसो भएको तनावपछि बन्द गरिएको नेपालतर्फको ढाट स्थितिमा सुधार आएसँगै आवतजावत खुला गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अपरान्ह जोगबनी बजारको अवस्था समान्य भएपछि नेपालबाट भारततर्फ आवतजावत पुनः सुचारु गरिएको हो। जोगबनी बजारमा दिउँसो मुश्लिम र हिन्दूबीच विवाद बढ्दै गर्दा दोहरो झडपको स्थिती सृजना भएको थियो।
त्यस क्रममा जोगबनी बजार तनावग्रस्त भएको थियो। जोगबनी बजार नेपालीहरुको समेत सरसामान खरिदविक्रीको लागि परिचित बजार हो। जहाँ तनाव भएसँगै प्रशासनले नेपालतर्फबाट आवतजावतमा रोक लगाएको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङले अवस्थामा फेरि तनाव भए वा विग्रिएको खण्डमा ढाट बन्द गरिने जनाएको छ। दशैं यता जोगबनी बजारमा खाद्यान्नदेखि लत्ताकपडा खरिदका लागि दैनिक घुइँचो हुदै आएको थियो।
चाडपर्वका क्रममा विराटनगर बजार भन्दा जोगबनी नै गुल्जार हुदै आएको छ। जहाँ विराटनगरसंगै सुनसरीका विभिन्नस्थानबाट सर्वसाधारण सरसामान खरिद गर्न पुग्ने गरेका छन्।