नाटक रिहर्सलमा जति राम्राे गरे पनि रिमालले भन्नुहुन्थ्याे, ‘खै यहाँ तेराे भएन’ (भिडियो)

+
-
देशसञ्चार AI सारांश
  • सम्राट् सापकोटाले राष्ट्रिय नाचघरको महोत्सवमा सर्वश्रेष्ठ नायकको अवार्ड जितेर रंगमञ्च क्षेत्रमा करियरको सुरुआत गरे।
  • हरिप्रसाद रिमालको निर्देशनमा नाट्य प्रशिक्षणपछि सम्राट अभिनयमा लागेका, पछि चलचित्र क्षेत्रमा पनि मोडिएका थिए।
  • सम्राट् ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठान’का सदस्य सचिवका रूपमा नाटक र संगीतलाई अघि बढाउन सक्रिय छन्।

२०३८ सालतिर कलाकार सम्राट् सापकोटा रत्नराज्य कलेज पढ्थे। आइए सर्टिफिकेट लेबल पढ्दै गरेका सापकोटा कलेजमा हुने नाटकमा भाग लिन्थे। नाटकको कुनै न कुनै पात्रको चरित्रमा आफूलाई ढाल्थे र उम्दा नाटक गरेको छाप छोड्थे। ०३८ सालमा भने तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय नाटक महोत्सव’ गर्‍यो। महोत्सवमा भाग लिन आरआर कलेजलाई पनि निम्तो आयो। कलेजबाट सम्राट्लगायत साथी मिलेर नाटक तयार पारे र प्रतिस्पर्धीका लागि राष्ट्रिय नाचघर जमल पुगे।

‘सांस्कृतिक संस्थानमा पुगेर नाटक गर्ने क्रममा निर्णायक मण्डललाई देखेर एकछिन त होस गुम्लाजस्तो भएको थियो। त्यहाँ हुनुहुन्थ्यो, स्वरस्रमाट् नारायण गोपाल र रेडियो नेपालका पहिलो गायक, रंगकर्मी, अभिनेता हरिप्रसाद रिमाल। नाटक त प्रथम भएन तर मलाई सर्वश्रेष्ठ नायक भनेर एउटा अवार्ड दिनुभएको थियो। त्यो नै रंगमञ्चमा लाग्ने पहिलो ढोका बनिदियो,’ कलाकार सम्राट्ले भने।

त्यो समय राष्ट्रिय नाचघरको महाप्रबन्धक थिए नारायण गोपाल। जसको गीत सुनेर उनी हुर्किए। स्वरस्रमाट् र रिमालका गीत गाउन लालायित हुन्थे उनी। १७ वर्षे केटोले देशकै हाेनहार प्रतिभालाई नजिकबाट देखेपछि सम्राट्का ठूलै उपलब्धि हासिल भएजत्तिकै भयो। तर, उनी भेट्न जान पाएका थिएनन्।

‘संयोग के भयो भने, अर्कोपटक मलाई बालकृष्ण समको नाटक ‘मुकुन्द–इन्दिरा’ को ‘भवदेव’ भन्ने पात्रमाथि अभिनय गर्न बोलाइयो,’ सम्राट्ले हरिप्रसादले नाचघर बोलाउँदाको संयोग सम्झिए।

मबाट नाटक हुँदैन। म जादिनँ भनेर भने पनि उहाँले कर गर्नुभयो। अनि बाध्य भएर गएँ

सम्राट् आफू घमण्डी पाराको थिएँ भन्ने अहिले पनि स्वीकार्छन्। उनको आनीबानी सुधार्न पटकपटक हरिप्रसादले भनेको सम्राट सुनाउँछन्, ‘केही सम्झाउँदैमा झनक्क नरिसाऊ। रिस देखाउने होइन। काममा ध्यान देऊ भनेर भन्नुहुन्थ्यो।’

हरिप्रसादको सानिध्यले अभिनय क्षेत्रमा सहनशिल हुनुपर्छ भन्ने बोध भइरहेको थियो भने अर्कोतिर सर्वश्रेष्ठ नायकको रूपमा पाएको अवार्डले हिरो हुन लाग्नुपर्छ भन्ने भावना पनि आउने गरेको बताउँछन् उनी।

अग्लो कद, लामो कपाल भएका मानिस प्रायः हिरो देखिन्छन्। सम्राट् पनि त्यस्तै थिए र छन्। त्यो बेला कलेजका साथीहरू हिरो बन भनेर हौसाउँथे। उनी होसिन्थे। काठमाडौँको डिल्लीबजारमा खाइखेली हुर्केको सम्राट्का लागि हिरो बन्न के गाह्रो छ र भन्ने पनि नआएको होइन। त्यतिखेर हिरो होइन कलाकार बन्नुपर्छ भन्ठाने उनले जतिखेर हरिप्रसाद रिमालको नाटकमा रिहर्सल गर्न पुगे। ‘हिरो हुन मलाई सबै कुराले साथ दिएको थियो। तर जब म हरिप्रसादलाई गुरु मानेर रिहर्सलमा बसेँ अनि थाहा पाएँ। अभिनय भन्ने कुरा कति कठिन रहेछ। जे गर्दा रिमालको चित्त बुझ्थेन। ‘खै तेरो यहाँ भएन’ भन्नुहुन्थ्यो। अनि मेरो अभिनयले पार लाग्दैन भनेर छोडेर हिँडे।’

चलिरहेको रिहर्सल नै छोडेर हिँडे सम्राट्। नाटकको रिहर्सल नै रोकियो। रिमालले सम्राटलाई खोज्न डिल्लीबजारतिरै पठाए। नाटकको पात्रमा फिट हुने सम्राट् अभिनय गर्न नसकेर नाटकलाई लत्याएका थिए। तर नाटकले उनलाई छोडेन। रिमालले उनलाई छोडेनन्। अनि राष्ट्रिय नाचघरमा जागिरे अर्थात सम्राटका छिमेकी पनि पर्ने सिद्धान्तराम जोशीले उनलाई राष्ट्रिय नाचघर फर्काए। ‘मबाट नाटक हुँदैन। म जादिनँ भनेर भने पनि उहाँले कर गर्नु भयो। अनि बाध्य भएर गएँ,’ उनले भने।

कलाकार सम्राट सापकाेटा

गल्ती गरेको विद्यार्थी शिक्षकको अगाडि डराएझैं रिमालको अघि उभिएको त्यो क्षण बारे उनी भन्छन्, ‘म साह्रै डराइ–डराइ उहाँ (रिमाल)को अघि उभिएको थिएँ। तर उहाँले बडो प्रेमले भन्नुभयो— बिस्तारै सिकिन्छ। प्रयाक्टिस बढी गर्लास्। समय दिउँला। डराएर हुँदैन। अभिनय गर्न सक्छस्। हिम्मत गर।’

सम्राटले जिद्दी छोडे। रिमालको कुरा काट्न सकेनन्। बिस्तारै बिस्तारै सम्राटले नाटकमा अभिनयलाई आत्मसाथ गर्न थाले। १७ वर्षको केटोले ४५ वर्षको पात्रको भूमिकालाई उनले न्याय गरे। दर्शक निर्देशकलगायत सबैको मन जिते। अनि सम्राटले निवार्ह गरेको पात्र र कलाकार सम्राटको बारेमा गोरखापात्रमा भव्य समाचार आयो। उनी पुल्कित भए। हर्षिए। ‘हिरो होइन कलाकार हुनुपर्दोरहेछ भन्ने सोच नै बदलियो,’ सम्राटले भने।

नाटक खेलेको केही वर्षपछि,
राष्ट्रिय नाचघरले कलाकारको आवश्यकताको माग गरेको सूचना सार्वजनिक भयो। कलाकारिता पनि गर्न पाइने पैसा अथवा जागिर पनि हुने भएपछि सम्राटले पनि निवेदन दिए। अन्तरवार्तामा पास भए। कलाकारका रूपमा जागिर सुरू गरेपछि उनको तलब पनि पाँच सय बीस रुपैँया थियो। भन्छन्, ‘मलाई ‘क श्रेणी’को तलब थियो। सायद त्यो बेला जिएमकै नौ सय थियो।’

देशले नै मानेको गायक कलाकारसँग राम्रै उठबस गरेका सम्राटलाई गाउन खुबै रहर थियो। कहिलेकाहीँ उनी आफ्नो कार्यलयमै गाइदिने गर्थे। अनि त्यतिन्जेल पछाडि नारायण गोपालले सुनिरहेको स्मरण गर्छन्, ‘नारायण गोपाल महाप्रबन्धक हुनुहुन्थ्यो उहाँको गीत बेला-बेला गाउँदा साह्रै हप्काउनु हुन्थ्यो। मेरो आवाज त राँगो कराएको जस्तो छ। उहाँ भन्नुहुन्थ्यो— के गाएको ? ओइ मैले त्यस्तै गाथेँ । बेसुरा।’

रंगमञ्चदेखि सिनेमासम्म

राष्ट्रिय नाचघरले थुप्रै होनहार कलाकार जन्माएको छ। राम्रै प्रतिभा हुनेले पनि अवसर पाउँथेनन्। ठूलो मेहनत गर्नुपर्थ्याे। तर सम्राटले राम्रै अवसर पाए। अभिनयमै उनले आफ्नो करिअर खोजे। अभिनयबाटै मन जिते। रंगमञ्चको आकर्षण जति भएता पनि फिल्मको आकर्षणले जो कोहीलाई तानेझैं सम्राटलाई तान्यो।

यता चलचित्रले उनलाई तानिरहेको थियो भने अर्कोतिर राष्ट्रिय नाचघर पनि छोड्ने मुडमा थिए। नारायण गोपालको कार्यकाल सकिएपछि गणेश रसिक महाप्रबन्धक भएर आए। ‘गणेश रसिक जिएम भएर आएपछि उहाँसँग थुप्रै नाटक गरें। तर बिस्तारै हामीबिच मनमुटाव भयो। ५—६ वर्षजस्तो भएको थियो जागिर खाको उपयुक्त नलागेर छोडे।’ उनले भने।

दुई वर्षपछि गणेश रसिकको कार्यकाल सकिएपछि रमेश ताम्राकार जिएम भए। उनैको पालामा सम्राट राष्ट्रिय नाचघरमा फर्किए। क्रमश रंगकर्मी हरिहर शर्मा पनि नाचघर आइपुगेको समय थियो त्याे। उनी भन्छन्, ‘रमेश ताम्राकार जिएम भएर आएको केही वर्ष काम गरेपछि छोडें । बेकारमा ‘हुन्डी’ खाएर बसेजस्तो हुन्छ भनेर नाचघरकाे जागिर छोडेको हुँ।’

जागिर छाेड्नुकाे कारण थियाे चलचित्र। उनी चलचित्रमा व्यस्त भए। भन्छन्, ‘अहिले रंगमञ्चका कलाकारहरू सिनेमा खेल्न पाएका छन्। त्यो बेला त फिल्म नै अत्यन्तै न्युन बन्थ्यो। अनि अवसर पाउन त साह्रै गाह्रो थियो। तर मेरा साथीहरूले मलाई फिल्म खेल्न सम्झिए। हिरो नै खेल्नु पर्छ भन्ने छैन। जेजस्तो भूमिका पाइन्छ गर्न पर्छ भनेर साथीले सम्झाए पछि मैले खेलें। त्यो मेरो राम्रो आधार बन्यो।’

अभिनेता, गायक र चलचित्र निर्देशक हरिप्रसाद रिमालकाे परिवारसँग कलाकार सम्राट

जीवनमा हरिप्रसाद रिमाललाई गुरुकुल दीक्षित मानेर नाट्य यात्रामा लागेको स्रमाटले अनगिन्ती नाटक गरे। भन्छन्, ‘नाटकमा कमै चिन्थे। फिल्मबाट ह्वात्तै चिन्छन् भन्ने पनि थियो। त्यसैले फिल्म क्षेत्रमा पनि हात हालें। उनको पहिलो फिल्म चोखो माया हो। जहाँ हिरो नभएर खल पात्रको अभिनय गरेका छन् सम्राटले। त्यसपछि २०५५ सालमा नायकको रूपमा चलचित्र ‘राजकुमार’, ‘प्रतीक्षा’, ‘कर्णवीर’, ‘आर्मी’ जस्ता चलचित्रमा अभिनय गरे। अहिलेसम्म तीन दर्जन फिल्म खेलिसकेका सम्राटले नेपालका चर्चित कलाकार राजेश हमाल, धिरेन शाक्य, करिष्मा मानन्धर, पूजा चन्दसँग अभिनय गरेका छन्। आजको समयमा प्रविधिले काम गर्न सहज देख्छन्। उनी भन्छन्, ‘पचासको दशक अघि त सिनेमामा काम गर्न गाह्रो थियो। कथा राम्रा हुन्थे तर प्रविधिका अभावका कारण राम्रो चिज निकाल्न सकिन्थेन तर आज कथा पनि बलियो छ र मेकिङ पनि भव्य छ।’

रंगमञ्चका कलाकारलाई नाटक देखाउने थलो थियो, राष्ट्रिय नाचघर, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय सभा गृह। तर अहिले नेपालमा निजी क्षेत्रबाट थुप्रै रंगमञ्च खुलेको र राम्रा कलाकारहरू जन्मिएको बताउँछन् उनी। अहिलेको कलाकारमा ‘डिसिप्लिन’ कम भएको बताउँछन् सम्राट। भन्छन्, ‘पहिला कलाकारहरू जन्मिन गाह्रो थियो। अहिले निजी क्षेत्रको सहयोगले कलाकारहरू थुप्रै जन्मिएका छन् तर अनुशासित कलाकार अत्यन्तै कम छन्।’

नेपाली चलचित्र र रंगमञ्च अहिले एउटै जस्तो भयो। त्यो समय नाटकमा काम अभिनय गर्ने काम गर्नेका मान सम्मान उम्दा थियो। सहरले चिन्थ्यो। तर अहिले नाटकमा काम गर्नेलाई खासै ‘वाच’ नगरेको बताउँछन्। भन्छन्, ‘रंगमञ्चको चार्मिङ त्यो बेला थियो। अहिले त फिल्म खेल्ने कलाकारहरु चिनिन्छन्। नाटकमा अभिनय गरेर फिल्ममा जानेको लर्को छ।’

रिमालको नाममा…

नेपाली रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा स्थापित कलाकार सापकोटा अहिले पनि चलचित्र र गीतसंगीतको क्षेत्रमा केही न केही गरिरहेका छन्। र सबैभन्दा ठूलो काम आफ्नै गुरु हरिप्रसाद रिमालको नाममा स्थापित ‘हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठान’को सदस्य सचिवको रूपमा काम गर्दै आइरहेका छन्।

२०६२ सालबाट स्थापना यो प्रतिष्ठानले २०६५ सालदेखि सम्मान गर्न थालेको थियो। रिमाल एक बहु प्रतिभाशाली कलाकार थियो। फिल्म नाटक र गायनको त्रिवेणीको संगम थिए रिमाल। सम्राट भन्छन्, ‘रिमालको प्रतिभा बहुआयमिक थियो। त्यसैले उहाँको बारेमा नयाँ पुस्ताले चिनिराख्नुपर्ने ठानेर प्रतिष्ठानले नयाँ-नयाँ स्रष्टालाई सम्मान गर्दै आइरहेको छ।’

हरेक वर्ष असोज २ गते रिमालको सम्झनामा कार्यक्रम हुन्थ्यो। तर २०८१ का लागि २०८२ असोज २ मा गर्ने कार्यक्रम जेन—जी आन्दोलनका कारण मिति सारियो। उनी भन्छन्, ‘यसपाली हामीले असोज २९ र ३० गते कार्यक्रम राखेका छौँ।

अघिल्ला वर्षमा झैं यसपाली पनि विभिन्न स्रष्टालाई सम्मान गर्दै छ प्रतिष्ठानले। साथैै रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरेको बताउँछन् स्रमाट। उनी भन्छन्, ‘अघिल्लो वर्ष हामी नाट्य महोत्सव गरेका थियौँ। यसपालि छोटो फिल्म महोत्सव गर्दै छौँ।’

हालसम्म प्रतिष्ठानले कसैसँग सहयोग लिएको छैन। निजी कोषबाट सञ्चालनमा आइरहेको बताउँछन्। सम्राट भन्छन्, ‘सरकारले पनि आजसम्म सहयोग गरेको छैन। यदी कोही जोडिन चाहनुहुन्छ भने हामी स्वागत गर्छौँ। रिमालको निर्देशनमा तयार भएको ‘नाटक के सक्कली के नक्कली’वर्षदिनसम्म चलेको थियो।

सांस्कृतिक संस्थानमा गएपछि नाटकमा क्रान्ति नै ल्याइदिए रिमालले। त्यसैगरी ‘फगत एक नजरमा कसैले लियो मन’ गीतका लागि चर्चित रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर रेडियो नेपालका प्रथम गायक बनेका थिए।

चर्चित साहित्यकार गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनी पारिवारिक नाटक सम्बन्धका कारण सानैदेखि कलाकर्ममा जोडिन पुगेका थिए।

बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ ‘आमा,’ ‘मनको बाँध,’ ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’लगायतका फिल्ममा अभिनय गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?