
- जेनजीको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको कोइराला निवास पुनर्निर्माणमा कांग्रेसको नेतृत्वमा काम सुरु भएको छ।
- भवनभित्र खानेपानी जडान सम्पन्न भइसकेको छ भने विद्युतको वायरिङको काम आजबाट सुरु भएको छ।
- पुनर्निर्माणमा उत्तरतर्फको कोठा पहिलो तयार हुने र पुरानो घरको विषयमा पारिवारिक छलफल भइरहेको छ।
मोरङ – जेनजीको आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट ध्वस्त विराटनगरस्थित कोइराला निवास पुनर्निर्माणमा जुटेको छ। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा कोइराला निवास ध्वस्त बनाइएको थियो। त्यसलगत्तै निवास आएका कांग्रेस वरिष्ठ नेता तथा घरधनी डा. शेखर कोइरालाले लोकतन्त्र रक्षाका लागि पुनः सोही भवन निर्माणबाट विगुल फुक्ने उद्घोष गरे।
राणाशासनकालमा कृष्णप्रसाद कोइरालाबाट निर्माण गरि प्रजातन्त्र स्थापनाका लागि अहम भूमिका खेल्दै आएको निवास मुलुककै ऐतिहासिक धरोहर रहेको उनले बताएका थिए।
यद्यपि, सोही संरचना पुनःस्थापित गराउन डा. कोइराला लागेका छन्। पुनर्निमाणका क्रममा भवनभित्र अत्यावश्यक सामग्री जडान गरिएको छ। त्यसैगरी, तोडफोडका क्रममा भवनको पश्चिमतर्फ घेरिएको पक्की देवाल पुनर्निर्माण भइरहेको छ। आगजनी गर्ने क्रममा आन्दोलनकारीले सो पक्की देवालसमेत भत्काएका थिए।
भवनभित्र खानेपानी जडान सकिएको छ। विद्युतको वायरिङको काम आजबाट सुरु गरिएको छ। निवासका एक सदस्यका अनुसार भवन पुनर्निर्माणतर्फ भने सुरुमा उत्तरतर्फको भवनको कोठा तयार हुनेछ।
अहिले गिरिजाप्रसाद कोइराला बस्दै आएको कोठा डा. कोइरालाकी आमा नोना कोइराला बस्ने कोठा र अर्को एक कोठा तयार हुने बताइएको छ। करिब ८ कठ्ठामा फैलिएको निवासमा रहेको कृष्णप्रसाद कोइरालाद्वारा निर्मित पुरानो घर निर्माण विषयमा भने पारिवारिक छलफल चलिरहेको छ।