
मोरङ – बडा।को आज महाअष्टमीका दिन विराटनगरको कालीमन्दिरमा दर्शनका लागि बिहानबाटै श्रद्धालु भक्तजनको घुइँचो लागेको छ। मेनरोडमा रहेको मन्दिरमा देवी दुर्गाको महागौरीको स्वरुपको पूजाआजाका लागि श्रद्धालु भक्तजनको घुइँचो लागेको हो।
कालीमन्दिरमा घटस्थपनायता विशेषगरी बिहान र बेलुका पूजाआजाका लागि भक्तजनको भीडभाड हुने गर्छ। मन्दिरमा पूजाका लागि विराटनगरसँगै आसपासबाट समेत भक्तजन पुग्ने गरेका छन्।
मन्दिरमा पूजाआजाका लागि सहजता प्रदान गर्न स्वयंसेवकदेखि प्रहरीसमेत खटिएका छन्। दसैँका बेला कामको सिलसिलामा विराटनगरबाहिर भएका मानिससमेत बिहान कालीमन्दिरमा पूजाका लागि पुग्ने गरेका छन्।
त्यसैगरी, विराटनगरपूर्व कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका, जहँदा गाउँपालिका, उत्तरमा बूढीगंगा गाउँपालिकाबाट समेत भक्तजन पूजाका लागि मन्दिर आउने गर्छन्। अष्टमीका दिन मन्दिरमा हाँस, परेवा, बोकालगायतको बलिसमेत दिइने गरिन्छ।