
- मौसम प्रतिकूलताको पूर्वानुमानका कारण मोरङमा रात्रिकालीन लामो दुरीको बस सेवा चार दिनका लागि स्थगित गरियो।
- बाढी आउन सक्ने सम्भावनाका कारण केशलिया खोला, सिंघिया र दरैया खोलाको नजिकका स्थानीयलाई सतर्क रहन भनिएको छ।
- विपद्को समयमा आवश्यक परे हेली र नेपाली सेनाको टोली तयारी अवस्थामा रहने जनाइएको छ।
मोरङ– मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै जिल्ला प्रशासन कार्यालय मोङगले रात्रिकालीन लामोदुरीको बस सेवाहरू स्थगन गर्ने निर्णय गरेको छ।
विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङमा शुक्रबार सम्पन्न जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मोरङगबाट चल्ने रात्रिकालीन लामो दुरीका बस सेवा आउँदो चारदिनका लागि स्थगित गर्ने निर्णय भएको बताए।
त्यसैगरि, बैठकले जिल्लामा बढी प्रभाव पार्ने केशलिया खोला, सिंघिया र दरैया खोलाको आसपासमा बसोबास गर्ने स्थानीयलाई समेत समितिले बाढी आउने प्रवल संभावना रहेको जनाउँदै सुरक्षित रहन आग्रह गरेको छ।
उनले भने, ‘विपद प्रतिकार्यका लागि आवश्यक परेको खण्डमा नेपाली सेनाको टोलीसहितको हेली तयार अवस्थामा रहेको छ । यसबारे सबै स्थानीय तह जानकारमा रहनेछन् । त्यसैगरि, सुरक्षा सम्बद्ध निकायका पदाधिकारीसहित कमाण्ड पोष्ट निरन्तर बस्ने र निकायसंग समन्वयमा रहनेछन्।’
आउँने दिनमा प्रतिकार्य र पूर्वतयारीका लागि सबै प्रकारका ठूला उपकरण, स्थानीय तह र नीजि क्षेत्र, आपूर्ती प्रणाली सहज र अभावरहीत बनाउन सरोकारवाला निकाय परिचालन गरिने उनको भनाइ छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी यादवसहित थलाहा ब्यारेकस्थित प्रमुख सेनानी अरुण कार्की, मोरङ प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, यातायात ब्यवसायीहरुको सहभागिता थियो।