
- अविरल वर्षाका कारण मोरङका विभिन्न खोलानालामा बहाव बढेपछि ३५० भन्दा बढी व्यक्ति सुरक्षित स्थानमा सारिएका छन्।
- विराटनगर–१२ को केशलिया खोला र उर्लाबारी–९ स्थित रतुवा खोलाले बस्तीमा पसेपछि अधिकांश घरपरिवार प्रभावित भएका छन्।
- स्थानीय अधिकारीहरूले प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन नागरिकलाई आग्रह गरेका छन्।
मोरङ- अविरल वर्षाका कारण मोरङका विभिन्न खोलानालामा पानीको बहाव सतहमाथि पुगेपछि करिब ३५० भन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार विराटनगरस्थित केशलिया खोला र उर्लाबारी नगरपालिकाको रतुवा खोलामा पानी पस्दा स्थानीय बासिन्दालाई स्थानान्तरण गरिएको हो।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार विराटनगर–१२ को सम्पन्न बस्तीमा केशलिया खोला पस्दा ७५ घरका करिब ३५० भन्दा बढी सर्वसाधारणलाई बखरी र दरैया आवासीय माध्यमिक विद्यालयमा सुरक्षित रूपमा राखिएको छ। त्यस्तै, उर्लाबारी–९ स्थित रतुवा खोलाले कम्तीमा २० घरमा पानी पस्दा प्रभावित परिवारलाई छिमेकीको घरमा सारिएको उनले बताए।
यसैगरी, विराटनगर–२ मा सिंघिया खोलाको पानी पस्दा ३० घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था आएको प्रजिअ यादवले जानकारी दिए। उनका अनुसार केशलिया खोलाले वडा नम्बर ५ को केशलिया टोल शंकरवारीमा २५ घर डुबानमा पारेको छ भने सुनवर्षी नगरपालिका–३ बाहुन टोलमा बक्राह खोलाको बाँध कटान हुँदा ६० घर प्रभावित भएका छन्।
सुनवर्षी नगरपालिका–६ मा समेत बक्राह खोलाको बाँध मर्मत कार्य भइरहेको प्रशासनले जनाएको छ। अधिकारीहरूले स्थानीयलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।