
- मोरङ जिल्लामा लगातार वर्षाका कारण ३८६ घर डुबानमा परेपछि १,५६८ जनाको उद्धार गरिएको छ।
- विराटनगर महानगरपालिकाका पाँच वडामा मात्रै २ सय ९ घर डुबानमा परी ८३० जनाको सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
- प्रभावितहरूलाई विभिन्न संघसंस्थाले खाद्यान्न व्यवस्था गर्दै राहत सामग्री उपलब्ध गराएका छन्।
विराटनगर- अविरल वर्षाका कारण मोरङ जिल्लाभर ३ सय ८६ घर डुबानमा परेका छन्।
शनिबार र आइतबार परेको भारी वर्षापछि जिल्लाका विभिन्न स्थानमा पानी जमेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानदेखि जिल्लाका धेरै क्षेत्रमा घर डुबानमा परेपछि १ हजार ५ सय ६८ जना सर्वसाधारणको उद्धार गरिएको छ। यद्यपि, हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका, रतुवामाई नगरपालिका, कटहरी गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका र सुनवर्षी नगरपालिका मा डुबान तथा कटानले असर पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कवित कठायतले दिएको जानकारीअनुसार, विराटनगर महानगरपालिकाको वडा नम्बर २, ५, ८, १२ र १६ मा मात्र २ सय ९ वटा घर डुबानमा परेका छन्। यी वडाबाट ८ सय ३० जना सर्वसाधारणको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
बाढीबाट प्रभावित भएकाहरूका लागि विभिन्न संघसंस्थाले खाद्यान्नको व्यवस्थापन गरेका छन्।
विराटनगर वडा नम्बर १२ बखरीका ३ सय ५० जना प्रभावितहरूलाई विराटनगर महानगरपालिका, जीवन विकास समाज र मारवाडी सेवा समितिले चिउरा, भुजिया, चाउचाउ लगायतका राहत सामग्री उपलब्ध गराएका छन्।
त्यसैगरी, वडा नम्बर २ स्थित व्यवस्थापन कलेजमा राखिएका १ सय ५० जनालाई स्थानीय युवाहरूले खाद्यान्नको व्यवस्थापन गरेका छन्।
प्रहरी कार्यालय मोरङले डुबानमा परेका केही घरपरिवारका सदस्यलाई भने उनीहरूका आफन्तले नै सुरक्षित बासको प्रबन्ध गरेको जनाएको छ।