
जनकपुरधाम– कोजाग्रत पूर्णिमाको अवसर जानकी मन्दिरमा १ सय ८ वटा पाहुर (भार) आएको छ । प्रत्येक वर्ष झै यस वर्ष पनि महोत्तरीको रतौलीबाट मंगलबार जानकी मन्दिरमा पाहुर आएको हो ।
पाहुरमा पान, मखान, लडु, खाजा, दही, चामल, दाल, तरकारीसहित भगवान रामजानकीको लुगा आएको हो ।
रतौलीका स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको अवसरमा जानकी मन्दिरमा पाहुर पठाइने गरिन्छ । पहिले स्वर्गीय ब्रहमदेव ठाकुरको घरबाट जानकी मन्दिरमा परम्परागत ढंगले काँधमा पाहुर बोकेर स्थानीयवासी जानकी मन्दिरमा ल्याउने गरेपनि अहिले आएर बोकेर ल्याउन नचाहेपछि गाडीमा भार ल्याउने गरेको र दही भने भरियाबाट नै ल्याउने गरिएको छ ।
लनथन परिवारका नविन ठाकुरले वर्षौँदेखिको परम्परालाई निरन्तरता दिँदै आएको बताए । यो परम्परा एक सयभन्दा बढी वर्षदेखि चल्दै आएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार कोजगरा महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ ।
जानकी मन्दिरमा आएको भार यहाँबाट राम मन्दिर, लक्ष्मण मन्दिर, बसहिया लगायतका मन्दिरहरुमा पठाइने गरिन्छ ।