
- कोशी प्रदेश सरकारले असोज १८ र १९ गतेको बाढी पहिरोले भत्किएका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
- इलाम, झापा र मोरङका घरहरू बनाउन प्रदेश सरकारले विवरण संकलन गर्दै निर्माण कार्य अघि बढाउँने जनाएको छ।
- चालु बजेटको खर्च हेरेर पुनर्निर्माणमा ध्यान दिन र बाधा खुलाउन प्रदेश सरकारले सिफारिस गरेको छ।
माेरङ – कोशी प्रदेश सरकारले असोज १८ र १९ गते गएको बाढी पहिरोले कोशी प्रदेशमा भत्किएका र बगाएका सबै घर पुनर्निर्माण गर्ने जनाएको छ।
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार सम्पन्न प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाइदिने निर्णय गरेको हो।
विपतमा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने प्रदेश सरकारले जनाएको छ। बैठकले घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने जनाएको छ।
त्यस्सैगरी, बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई जिम्मा दिएको छ।
त्यस्तै सुनसरी जिल्लामा वन पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी र झापा जिल्लाका लागि खानेपानी , सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।
बैठकले चालु बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। त्यसैगरि, भौतिक पूर्वाधार मन्त्रालयलाई अवरूद्द भएका बाटोहरू खुला गर्न आफ्ना सबै संयन्त्र परिचालन गर्नका लागि पनि बैठकले निर्देशन गरेको छ। मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि बैठक निर्देशन जानकारी दिए।