
अ
+
अ
अ
-
जलेश्वर –महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६ धबौली गाउँमा आज बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जलेश्वर–६ धबौली बस्ने नसरुद्दिन साफीका छोरा ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए।
आज दिउँसो साथीसँग जलेश्वर–६ मै अवस्थित परिक्रमा गाछी नजिकै रहेको लच्कामा आएको बाढीको पानीमा पौडी खेल्न गएका बालक साफीलाई तीव्र गतिमा बगिरहेको पानीले बगाएपछि उनी बेपत्ता भएका थिए।
करिब दिउँसो २ः०० बजे बेपत्ता भएका बालक साफीकाबारेमा सँगै गएका साथीहरूले गाउँटोलमा जानकारी गराएपछि घरपरिवार, टोलछिमेकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासपछि उनको शव लच्काभन्दा १०० मिटर दक्षिणमा पानीमै डुबेको अवस्थामा फेला परेको थियो।
डुबेर मृत्यु भएको बालक साफीको शव अबेर साँझ परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा लगिएको छ। जलेश्वरमा गत शनिबार र आइतबार परेको अविरल वर्षापश्चात् रातो नदीको तटबन्ध भत्किएर ठूलो बाढी आएको थियो।