
धनगढी- कैलालीमा आपसी विवादमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।
घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राती खाजा खाने क्रममा भएको विवादका क्रममा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सुर्खेतको चौकुुने गाउँपालिका–३ घर भएका बुढाको हत्यामा संलग्न दुई जनाले राति नै प्रहरीमा आत्मासमर्पण गरेको बताए ।
उनकाअनुसार धारिलो हतियारले रेटिएको टाउको बोकेर शुक्रबार राति नै घोडाघोडीकै १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए ।
उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रहरीकाअनुुसार मृतक र हत्यामा संलग्न दुई जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए ।
सोही क्रममा विवाद भएपछि उनीहरुले धारिलो हतियार प्रहार गरेर बुढाको घाँटी रेटेर हत्या गरेका थिए ।