
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिरहाको कल्याणपुर नगरपालिका वडा– ५ स्थित गढा चिकाना सडकको ढलान गर्दा गुणस्तरहीन सामग्री प्रयोग र कम थिकसेन गरी अनियमितता गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।
आयोगले डिभिजनल इन्जिनियर तत्कालीन कार्यालय प्रमुख रविन्द्रलाल दास, इन्जिनियर शैलेन्द्र कुमार चौधरी, सवइन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कुरैसीविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगले उनीहरूसँग दुई करोड ३४ लाख ९९ हजार नौ सय रुपैयाँ बिगो दाबी माग गरेको छ।