
काठमाडौँ– जेन–जी आन्दोलन हुनुअघि मुलुकमा यस्ता घटना हुनसक्नेतर्फ सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई पटक–पटक सचेत गराएको नेपाली सेनाले जनाएको छ।
भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपछिका दिनमा निर्वाह गरेको आफ्नो भूमिकाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले यस्तो बताएको हो।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली सेनाको युद्धकार्य विभागका प्रमुख मेजर जनरल अनुपजंग थापाले विश्वव्यापी रुपमा र छिमेकमा भइरहेका घटनाबारे जानकारी गराउँदै नेपालमा पनि समस्या बढ्न सक्छ भनेर पटक–पटक जिम्मेवार व्यक्तिहरूलाई खबर दिएको बताए। तर, घटनाको स्केल अनुमान गरेभन्दा ठूलो भएको उनले बताए।
‘यस्ता घटनाहरू विश्वव्यापी रुपमा र हाम्रो छिमेकमा पनि वेभका रूपमा आएको हुँदाखेरी समस्या बढ्न सक्छ भनेर नेपाली सेनाले समय समयमा सम्बन्धित जिम्मेवार व्यक्तिहरूलाई खबर दिएको कुरा सत्य हो। तर, घटनाको स्केल सम्भवतः सबैको अनुमान भन्दा ठूलो भयो,’ उनले भने। सेनाले ‘जिम्मेवार व्यक्ति’ भनेर तत्कालीन प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री मानवीर राईसहितका पदाधिकारीहरुलाई लक्षित गरेको हो।
आन्दोलनपछि नेपाली सेनाले तत्कालीन अवस्थाको आधारमा निर्णय लिएको उनको भनाइ थियो। उनले नेपाली सेनाले राजनीति नगर्ने पनि स्पष्ट पारे।
उनले भने, ‘यो कुरा स्पष्ट छ, सेनाले राजनीति गर्दैन। तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नका लागि नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले आवश्यक पहल लिएको मात्र हो।’
सेनाले उक्त पहल नलिएको भने परिणाम कस्तो हुने थियो भन्नेकुरा आँकलन गर्न सकिने उनले बताए। यदि नेपाली सेना आन्दोलनपछि अन्य देशमा भएका मोडलतर्फ गएको भए के हुन्थ्यो भन्नेकुरा विचार गर्न पनि उनले आग्रह गरे।
‘एकक्षणलाई सोचौँ, भदौ २४ गतेको राति सेनाले स्थिति साम्य पार्न जे प्रयास गर्यो, त्यो नगरेको अथवा विश्वमा विभिन्न ठाउँमा देखिएका अन्य मोडेलहरूअनुसार कुरा अगाडि बढेको भए के हुन सक्थ्यो सबैको लागि यो विचारयोग्य विषय हुनसक्छ। नेपाली सेनाले त्यस बखतमा शान्तिपूर्ण निकास तथा अराजक वातावरणको न्युनीकरणको लागि सबै पक्षसँग छलफल गर्नु अपरिहार्य सम्झेको हो,’ उनले भने।
मेजर जनरल थापाले जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका देखिएको भनिएको तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी) समूहबारे नेपाली सेनाले पनि अध्ययन गरिरहेको पनि जानकारी दिए।
‘यो समूहको बारेमा विभिन्न कुराहरु बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौँ। यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस्,’ थापाले भने।