- व्यास नगरपालिका–१० मा स्थापना भएको शिवालय गौ संरक्षण केन्द्र लोपोन्मुख गिद्धको सफल संरक्षण गन्तव्य बनेको छ।
- आहारको राम्रो व्यवस्थापनपछि, व्यास नगरपालिकामा विभिन्न प्रजातिका करिब एक सय गिद्ध प्रतिदिन देखिन थालेका छन्।
- नगरपालिकाको प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षणलाई जोड्दै तनहुँलाई इको-मोडल नगरपालिकातर्फ अघि बढाएको छ।
डुम्रे (तनहुँ) – जिल्लाको व्यास नगरपालिका–१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ संरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट गन्तव्य बनेको छ। लोपोन्मुख अवस्थामा पुगेका गिद्धको आहार व्यवस्थापन भएपछि केन्द्रमा गिद्धका बथान देखिन थालेका छन्।
नगरपालिकाको पहलमा गौ संरक्षण केन्द्र स्थापना तथा व्यवस्थापन भएपछि विगतमा हराउँदै गएका गिद्धका नयाँ प्रजातिसहित बथान फर्किन थालेका केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए। “आहारको व्यवस्थापनले सेतो, खैरोलगायत विभिन्न प्रजातिका लोपोन्मुख गिद्ध देखिन थालेका छन्। यसले हामीलाई पनि खुसी बनाएको छ। हराउँदै गएका लोपोन्मुख पक्षीको संरक्षण भएको छ। अझै यसका प्रजाति बढ्दै गएका छन्”, उनले भने।
प्रकृतिको कुचिकारका रूपमा परिचित गिद्ध पछिल्ला वर्षमा आहाराको अभाव, रूखको कटानी र विषाक्त पदार्थका कारण लोपोन्मुख अवस्थामा पुगेका अध्यक्ष सापकोटाको भनाइ छ। व्यास नगरपालिकाले सञ्चालनमा ल्याएको गौ संरक्षण केन्द्रमा मरेका पशुचौपाया गिद्धको आहाराका रूपमा व्यवस्थापन गर्न थालेपछि अहिले नौ प्रजातिका करिब एक सय गिद्ध दैनिक देखिएका उनले जानकारी दिए।
नगरप्रमुख वैकुण्ठ न्यौपानेले छाडा गौ संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको यस केन्द्र बहुउपयोगी भएको बताए। उनले भने, “सडकको बीच भागमा हिँड्ने र सवारीसाधनको बाटो छेक्नाका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउन स्थापना गरिएको केन्द्रले गिद्ध संरक्षणमा पनि सहयोग पुगेको छ। यो प्रयास व्यास नगरपालिकाको दीर्घकालीन योजनाअन्तर्गतको अभियान हो।”
यस कार्यलाई नगरपालिकाको गौरवको योजनामा समावेश गरिएको बताउँदै नगरप्रमुख न्यौपानेले केन्द्रमार्फत आहाराको व्यवस्था भएपछि लोपोन्मुख गिद्ध फर्काउन सफल भएको उल्लेख गरे। “यहाँ पूर्ण रूपमा पारिस्थितिक प्रणाली (इकोसिस्टम) लागू गराएका छौँ। जहाँ गाई, गिद्ध, नदी र वनस्पति सबै आपसी सहअस्तित्वमा जोडिएका छन्”, उनले भने।
नगरपालिकाले गिद्ध संरक्षणका लागि प्रत्येक वर्ष रु १० देखि १५ लाख बजेट विनियोजन गर्दै आएको छ। केन्द्रमा कार्यरत तीन कर्मचारीको तलब, गाईका लागि पराल, चोकरलगायत खाद्यपदार्थ र आवश्यक औषधि नगरपालिकाको सहयोगमा उपलब्ध गराइन्छ। साथै, नगरपालिकाले केन्द्रको सुरक्षाका लागि रु १२ लाखमा तारबार लगाएको छ।
नगरप्रमुख न्यौपानेले नगरले प्राकृतिक सन्तुलन र धार्मिक पर्यटन दुवैलाई अघि बढाउने नीति अपनाइएको बताउनुभयो। “प्रकृतिमा सबै प्राणीले बाँच्ने अधिकार राख्छन्। गिद्ध फर्किनु हाम्रो संरक्षण नीति सफल भएको प्रमाण हो”, उनले भने।
व्यास नगरपालिकाको निरन्तर सहयोगले यो योजना सम्भव र सफल भएको केन्द्रका अध्यक्ष सापकोटाले बताउनुभयो। गौ संरक्षण केन्द्र स्थापनापछि दैनिक नौ प्रजातिका करिब एक सय गिद्ध देखिन थालेका छन्। राज, हिमाली, घाँटी खुइलेदेखि स्थानीय प्रजातिका गिद्ध देख्न सकिने उनले जानकारी दिए।
सापकोटाले भन्नुभयो, “नगरपालिकाले नसोचेको ठाउँमा पनि सोचेर काम गरेको छ। जसले पर्यावरण र जनजीवन दुवैलाई सन्तुलित बनाउने भूमिकामा उभिएको छ।” गाई तथा गोरुको मलमूत्र र कुहिने फोहरबाट बायोग्यास प्लान्ट निर्माण गरिएको छ, जसले केन्द्रलाई स्वावलम्बी पनि बनाएको उनको भनाइ छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र तनहुँले बिरामी गाईको उपचार र औषधि सहयोग गर्दै आएको छ। केन्द्रको यस्तो सहयोगले मरेका गाईको सिनो सुरक्षित बनाउन चिकित्सकको सल्लाहमा औषधिको मात्रा मिलाइन्छ, जसले गिद्धको स्वास्थ्य र प्रजननमा योगदान पु¥याउनेछ।
व्यास–५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले व्यास नगरपालिकाको दीर्घकालीन अभियानलाई सहयोग पुर्याउन सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “गौ संरक्षण केन्द्रले जैविक विविधता र पर्यावरण संरक्षणमा टेवा पुगेको छ। गिद्धले वातावरण सफा र सन्तुलित राख्ने काम गर्छ। व्यास नगरपालिकाको यस प्रयासले तनहुँ मात्रै नभएर देशका सम्पूर्ण पालिकालाई प्रेरित गरेको छ।”
केन्द्र सञ्चालनपश्चात् जिल्लाबाट हराइसकेको गिद्ध अहिले बथानसहित फर्किएको छन्। जुन नगरपालिकाको दुरदर्शी सोचको नतिजा हो। व्यास नगरपालिकाको यो प्रयासले धार्मिक पर्यटन, हरित विकास र वन्यजन्तु संरक्षण तीनै क्षेत्रलाई जोड्दै तनहुँलाई ‘इको–मोडल’ नगरपालिकातर्फ अघि बढाएको छ। तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणमा टेवा पुगोस् भनेर सामाजिक उत्तर दायित्वअन्तर्गत गिद्ध बस्नका लागि अग्ला खम्बाको व्यवस्था गरिएको छ।
गिद्धलाई बस्न सहज होस् भनेर खम्बा बनाइए पनि विद्युतीय खम्बामा गएर बस्दा कतिपय गिद्ध करेन्ट लागेर मर्ने गरेका स्थानीय बताउँछन्। अहिले आउन थालेका गिद्धको संरक्षणका लागि विद्युतीय तारलाई नाङ्गो रहेकाले त्यसको व्यवस्थापनमा सहयोग गर्न स्थानीयको आग्रह छ।

भर्खरै
लोकप्रिय






































































































































































































