
विर्तामोड– भद्रपुर नगरपालिका १० चन्द्रगढीकी ६१ वर्षिया रेखा अधिकारीलाई उत्कृष्ट आमाको सम्मान गरिएको छ। अर्जुनधारा नगरपालिका ८ निवासी साहित्यकारद्वय दाजुभाइ कृष्ण धरावासी तथा कुमार भट्टराईका परिवारले उत्कृष्ट आमाको सम्मान गरेका हुन्। धरावासी परिवारले वर्षेनी उनीहरुकी दिवंगत आमा अम्बिकादेवी भट्टराईको पूण्य तिथिमा एकजना आमालाई सम्मान गर्ने गरेको छ।
अधिकारीलाई नगद ११ हजार रुपैयाँका साथ दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरिएको थियो। भट्टराई परिवारले अम्बिका प्रतिष्ठानको स्थापना गरेर वर्षेनी आमा सम्मान कार्यक्रम गरिरहेको छ। यसपालीको सम्मान १३ औं सम्मान हो।
अम्बिकादेवी भट्टराईको निधन २०५८ सालको महाअष्टमीका दिन भरतपुर क्यान्सर अस्पतालमा भएको थियो। छोरा छोरी सानै छँदा बाबुको निधन भएकाले दःख गरेर सन्तानलाई हुर्काएकाले आफूहरु अहिले यतिको भएको भन्दै भट्टराई परिवारले आमा सम्मान कार्यक्रम गरेर वर्षेनी आफ्नी आमालाई सम्झिने गरेको छ। साहित्यकार धरावासीले भने, ‘यो सम्मान कार्यक्रम गरिरहँदा हाम्री आँखा अझै हामीसँगै छिन् जस्तो लाग्छ।’
श्रीमानको सहारा नपाएको वा दिवंगत भएर दुःख गरेर आफ्ना सन्तानलाई हुर्काउने, बढाउने तथा पढाउने जस्ता कुशल कार्य गर्ने आमालाई वर्षेनी सम्मान गर्ने गरिएको कुमार भट्टराईले बताए।
रेखा अधिकारी एकल महिला हुन्। २०४९ सालमा श्रीमानको निधन भएपछि उनले आफ्ना दुई छोरालाई लालन पालन गरेर गरिखानसक्ने बनाइन्। अहिले पनि उनी एकल, असहाय तथा अशक्तहरुका लागि लड्ने एक अभियन्ता पनि हुन्। सम्मान पाएपछि उनले भनिन्, ‘यो सम्मान सन्तानप्रति समर्पित सम्पूर्ण आमाहरुको सम्मान हो।’