- सोमबार विराटनगरका खोला, नहर, पोखरीमा छठ पूजाका लागि ब्रतालु तथा भक्तजनको उल्लेख्य भीड लागेको छ।
- ४८ वर्षीया मुन्नी साहले यसपटक दुई वटा ढाकी सूर्य देवतालाई चढाउने र भक्तजन भीड बढेको बताइन्।
- विराटनगरका मेयरले छठ पर्वलाई धार्मिक आस्थासँगै पर्यावरणीय सन्तुलनको सम्मान भएको बताए।
मोरङ – छठ पर्वको मुख्यदिन सोमबार विराटनगरका खोला, नहर, पोखरीलगायत स्थानमा ब्रतालु तथा भक्तजनको घुइँचो लागेको छ। सुनसरी–मोरङ सिँचाइ योजनाको नहरलाई केही दिनअघिबाट सरसफाइ गरी छठ पूजाका लागि आकर्षक रूपमा सजाइएको छ।
उक्त नहरमा १२ वर्षदेखि छैठी माताको ब्रत बस्दै आएकी ४८ वर्षीया मुन्नी साहले यसपटक दुई वटा ढाकी सूर्य देवतालाई चढाउने भएकी छन्।
अस्ताउँदो सूर्यलाई अघ्र्य दिन नहरस्थित घाटमा रहेकी साहले अघिल्लो वर्ष सासूको निधन भएकाले यसपटक दुई वटा ढाकीको तयारी गरेको बताइन्।
यसपटक नहरमा अघिल्लो वर्षभन्दा ब्रतालु–भक्तजन भीड लागेको छ। एक छोरा र एक छोरीकी आमा साहले आफूले छैठी मातासँग आफूले अपेक्षा गरेको कुरा पूरा हुने गरेको र भाकल गरेअनुसार पूजा गरिँदै आएको बताइन्।

उनले भनिन्, ‘विगत वर्षमा छठका लागि नहरमा यसप्रकारको भीड र ब्रतालुको उपस्थिति देखिँदैनथ्यो। तर, यसपटक भक्तजनको उपस्थिति उल्लेख्य बढेको छ। यो सबै हिन्दु रीतिरिवाज मान्नेहरूका लागि सुखद कुरा हो। निराहार ब्रत बसेर परिवारको दीर्घायु, मुलुकमा सुख–शान्तिको कामना गरिन्छ।’
त्यसैगरी, ५३ वर्षीय उमेश साह पनि छठ पर्वप्रति गहिरो आस्था र विश्वास राख्ने गरेको बताए। उनले प्रत्येक वर्ष छठ पर्वमा श्रीमती मुन्नीलाई सहयोग गर्ने गरेको बताए।

पहिले तराईवासीले मात्र भनिए पनि अहिले छठ पर्व सबैले मनाउने गर्छन्। छठ पर्वका लागि विराटनगरका मेयर नागेश कोइरालाले अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्र्य अर्पण गर्ने छठ पर्व केवल धार्मिक आस्था मात्र नभई प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनको सम्मान भएको बताए।
त्यसैगरी, कोशी प्रदेश सभासदस्य भीम पराजुलीले २८ वर्षदेखि छठ पर्वका क्रममा गर्दै आएको दण्डप्रणामलाई यसपटक पनि निरन्तरता दिएका छन्।
विराटनगरको ठूलोमिलस्थित निवासबाट दण्डप्रणाम गर्दै उनी करिब पाँच घण्टाको समयावधिमा परोपकार घाटस्थित सिंघिया खोलामा निर्माण गरिएको छठ पूजास्थलसम्म पुगेका थिए।


भर्खरै
लोकप्रिय






































































































































































































