अदालतमा आगो लगाउनेविरुद्ध सर्वोच्चले संस्थागत रुपमै जाहेरी दिने

अदालतमा आगो लगाउनेविरुद्ध सर्वोच्चले संस्थागत रुपमै जाहेरी दिने
+
-
देशसञ्चार AI सारांश
  • सर्वोच्च अदालतले आगजनी तथा तोडफोडका घटनामा संलग्नविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिने भएको छ।

  • आगजनीका कारण देशभरका अदालतमा ९ लाख ३३ हजार मुद्दाका मिसिल र ४२२ सवारीसाधन नष्ट भएका छन्।

  • आगजनीबाट २३ भवन क्षतिग्रस्त हुँदा दशवटा भवन पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेका छन्।

काठमाडौँ – जेनजी आन्दोलनका नाममा अदालतहरुमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध सर्वोच्च अदालतले संस्थागत रुपमा किटानी जाहेरी दिने भएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका नाममा सर्वोच्च अदालतसहित २३ वटा अदालत आगो लगाएर पूर्णरुपमा ध्वस्त पारिएको थियो।

उक्त घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेर कारबाहीको माग गर्दै सर्वोच्च अदालत आफैले संस्थागत रुपमा प्रहरीसमक्ष जाहेरी दिने भएको हो। सर्वोच्चका एक अधिकारीका अनुसार आइतबार बसेको फुलकोर्ट (सबै न्यायाधीशको) बैठकमा किटानी जाहेरी दिनेबारे छलफल भएको छ।

ती अधिकारीले देश सञ्चारसँग भने, ‘संस्थागत रुपमा जाहेरी दिनेबारे फुलकोर्ट बैठकमा छलफल भएको छ। केही दिनभित्रै निर्णय भएर प्रक्रिया अघि बढ्छ।’ आगजनी भएका अरु अदालतहरूलाई पनि किटानी जाहेरी दिन सर्वोच्चले निर्देशन दिने भएको छ।

अदालतहरुमा नियोजित रुपमा आगो लगाइएको दाबी गरिन्छ। स्रोतका अनुसार केही जिम्मेवार व्यक्तिहरुले अदालतमा आगो लगाउन उक्साएको भरपर्दो सूचना (म्यासेज) सर्वोच्चका न्यायाधीशहरुको हातहातमा घटनालगत्तै पुगेको थियो।

अदालतमा को–को व्यक्ति आगजनी गर्न पुगे भन्ने जानकारी सिसिटिभी फुटेजबाट पनि देखिएको छ। आगजनी र तोडफोडका कारण ध्वस्त भएको अदालतको विद्युतीय अभिलेखलाई सर्वोच्चले सोमबारदेखि पूर्णरुपमा रिकभर गरेको छ।

विद्युतीय माध्यममा भएका अभिलेख रिकभर भएसँगै घटनामा संलग्न व्यक्तिहरुलाई छानबिनको दायरामा ल्याउन पनि सहज हुने भएको छ। आगजनीका कारण सर्वोच्चसहितका अदालतहरुका दशवटा भवन, ४२२ सवारीसाधन र ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी बनाइएको छ।

अदालतहरुमा कहाँ कति भयो क्षति?


जेनजी आन्दोलनका नाममा भदौ २४ गते भएको आगजनी र तोडफोडले देशभरका अदालतमा अपूरणीय क्षति भएको थियो।

सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भएको आगजानीका कारण भवन, मुद्दाका महत्वपूर्ण अभिलेख, चालु अवस्थामा रहेका मुद्दाका मिसिल, सवारी साधान र अन्य अत्यावश्यक सामाग्रीहरु जलेर खरानी भएका छन्।

सर्वोच्चले अदालतहरुमा भएको क्षति विवरणअनुसार चालु अवस्थामा रहेका र अभिलेखमा पुगेका गरी ९ लाख ३३ हजार ८२३ वटा मिसिल जलेर पूर्णरुपमा नष्ट भएका छन्। जसमा फैसला हुन बाँकी विचाराधीन मुद्दाको संख्या २६ हजार ५६७ रहेको छ।

क्षतिको विवरण शुक्रबार बसेको अदालत व्यवस्थापन समितिको बैठकमा पेश भएको सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। यही विवरणलाई नै अदालतले सरकार र जाँचबुझ आयोगलाई बुझाउनेछ।

सर्वोच्च अदालतका करिब सबैजसो मिसिल जलेर खरानी भएका छन्। प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सर्वोच्चमा भदौ २३ गतेसम्म २४ हजार २३४ वटा मुद्दा विचाराधीन रहेकोमा २० हजार ३४ वटा विचाराधीन मुद्दाको मिसिल जलेर पूर्ण रुपमा नष्ट भएका छन्। अब जम्मा ४ हजार दुई सय मुद्दाका मिसिल मात्रै बचेका छन् जसमा रिटतर्फ दुई हजार पाँच सय ९ र मुद्दाका जम्मा एक हजार ६९१ थान मिसिल बचेका छन्।

जलेका मिसिलमा सार्वजनिक महत्वका, ठूला भ्रष्टाचारका मिसिलसमेत परेका छन्।

तल्ला तहका अदालतहरुमा चालु अस्थाका ६ हजार पाँच सय ३३ मुद्दाका मिसिल जलेका छन्। कोइरालाका अनुसार सर्वोच्चबाहेक अरु अदालतमा अभिलेखका रुपमा रहेका ७ लाख ६ हजार ७१ थान मुद्दाका मिसिल नष्ट भएका छन्।

सर्वोच्च अदालतमा अभिलेखका रुपमा रहेका एक लाख ९७ हजार थान मुद्दाका मिसिल गुमेका छन्। मातहत अदालतमा तहसिलतर्फका चार हजार एक सय ८५ मिसिल काम नलाग्ने भएका छन्।

दशवटा भवन काम नलाग्ने


आगो लागेका २३ वटा भवनमध्ये दशवटा पूर्ण रुपमा कामै नलाग्ने भएका छन्, जसमा सर्वोच्चको एनेक्सबाहेक कुनै पनि भवन काम नलाग्ने अवस्थामा पुगेको पाण्डेले बताए। उच्च अदालत तुलसीपुर, उच्च अदालत बुटवल र उच्च अदालत पाटनको हेटौँडा इजलासको भवन पनि कामै नलाग्ने अवस्थामा पुगेको छ।

जिल्ला अदालततर्फ काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ र बाँकेका भवन काम नलाग्ने भएका छन्, जसमध्ये काठमाडौँ जिल्ला अदालतको भव्य भवन केही वर्षअघि मात्रै बनेर सेवा दिइरहेको थियो। अहिले उक्त भवनमा डराइडराइ जानुपर्ने अवस्था रहेको पाण्डेले बताए।

४२२ सवारीसाधन नष्ट


अदालतहरुमा चार सय २२ वटा सवारीसाधन जलेर पूर्ण रुपमा नष्ट भएका छन्, जसमा चार पाङ्ग्रे सवारीसाधनको संख्या १२९ छ। सर्वोच्च अदालतमा ४३, मातहतका अदालतका ३८, उच्च अदालतका न्यायाधीशले चढ्ने २३ र जिल्ला न्यायाधीशले चढ्ने गरेका २५ वटा सवारी चार पाङ्ग्रे नष्ट भएका छन्।

अदालतहरुमा २२३ वटा मोटरसाइकल जलेर काम नलाग्ने अवस्थामा पुगेका छन्। सर्वोच्चका ७१, मातहतका अरु अदालतमा प्रयोग भएका १५२ वटा मोटरसाइकल जलेको प्रवक्ता कोइरालाले जानकारी दिए।

७० वटा स्कुटर जलेर काम नलाग्ने भएकोमा सर्वोच्चका ३८ र मातहतका अदालतका ३२ वटा परेका छन्। सर्वोच्चको प्राङ्गणमा मात्रै १५२ वटा सवारी साधन काम नलाग्ने अवस्थामा पुगे। आगलागीमा परे पनि ३८ वटा चार पाङ्ग्रे गाडी भने मर्मत गरेर चलाउन सकिने अवस्थामा रहेको प्राविधिकहरुले सुझाव दिएका छन्, जसमा सर्वोच्चका १६ र मातहतको अदालतका २२ वटा छन्।

यो पनि पढ्नुहोस्

सर्वोच्चको वेबसाइट सञ्चालनमा, विद्युतीय अभिलेख यथावस्थामा फर्कियो

सर्वोच्चको वेबसाइट सञ्चालनमा, विद्युतीय अभिलेख यथावस्थामा फर्कियो

अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी

अदालतमा विध्वंश: दश भवन, ४२२ सवारी, ९ लाख ३३ हजार मुद्दाका मिसिल खरानी

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’