
क्षेत्रप्रताप अधिकारी-
जताततै
जनयुध्द जुधेको बेला
गाउँमा एउटा दसैँ
सुटुक्क आयो
रोदीमा मादल पनि बजाएन
कतै फूलपाती पनि सजाएन
खसी बोका केही खाएन
मालसिरी पनि गाएन
लुसुक्क गयो ।
देश त
खत्तम भयो नि कान्छा !
यसरी –
देशको सुस्केरा सुसाइरहे
कमैया र हलियाहरू
सहरतिर
शान्ति आयो कान्छा ?
यसरी –
भयभीत सवाल सोधिरहे
अशान्तमना आमाहरू ।
नौलो अनुहार भेटेपछि
बुध्दमानकी आमा
धरधरी रुन्थिन् र भन्थिन्
यो बस्तीका धेरै मान्छे फर्र्किए
मेरो बुध्द मात्र
युध्दमा परेछ क्यारे
अत्तोपत्तो छैन
कतै देख्नुभाथ्यो कि हजुर ?
यसरी –
मालसिरीको मौसममा
आँसुको सिम्फोनी सुनियो ।
काखमा नानी च्यापेकी
भुजेल्नी भाउजू भन्दैथिइन् –
यसको बाउको फोटोमा अचेल
धूलो मैलो र कागत
सलाईका काँटी टाँसिएको देख्छु
यस्तो कसरी भयो, डर लाग्छ !
लाम्टो चुसिरहेका
टुहुरा आँखा देख्छु
डर लाग्छ !
यसरी –
द्वन्दकी घाइते विधवाको
भावपूर्ण कोलाज भयो दसैँ ।
भन्ज्याङमा बूढापाकाहरू
मलाई औंल्याएर भन्दै थिए –
सहर पनि सुनसान छ भन्छन्
उः त्यो कान्छो
दसैं खोज्दै बस्तीमा
र, तेल खोज्दै कोलमा आएछ
चिनी खोज्दै रसेटोमा
र, पानी खोज्दै खोलामा आएछ
ठीकै गर्यो –
सहरको कलधारोभन्दा
गाउँको पँधेरो सफा छ ।
एक साँझ
आमा मिलन केन्द्रमा
आमाहरू भेट्न गएको त
एउटी आमाले
यस्तो गीत झिकिन् –
“एउटा दसैं फर्केन ठीकै छ
छोराछोरी फर्किए भैगयो
जनयुध्द विजयपछि
सुखशान्ति फर्किए भैगयो”
सबै आमाहरूले
गीत छोपे
ताली बजाए र एकै स्वरमा गाए
जेठी आमा उठेर
मुसुक्क हाँसिन्
बूढो कम्मर भाँचेर नाचिन्
बल्ल पो गाउँघरमा
दसैँ आएजस्तो लाग्यो ।