- लिगण्डकी नदी आसपास पाइने दुर्लभ चिरकालिजको सङ्ख्या १६ वर्षपछि उल्लेख्य रूपमा बढेको अध्ययनले देखाएको छ।
 - चिरकालिजको वृद्धि संरक्षण शिक्षा, चोरी सिकार नियन्त्रण, र बासस्थान नजिक मानवीय क्रियाकलाप घटेसँग जोडिएको छ।
 - नेपाल पन्छीविद् सङ्घले उपलब्ध प्रतिवेदनका आधारमा संरक्षण कार्यक्रम सञ्चालन गर्न टोलेडोजुले सहयोग गरिरहेको छ।
 
म्याग्दी- लीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा पाइने दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको पाइएको छ। नेपाल पन्छीविद् सङ्घले हालै गरेको अध्ययन अनुसार १६ वर्षपछि चिरकालिजको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको हो।
सङ्घले मुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुञ्जो, टिटीताल, खन्ती र झिप्रा देउराली क्षेत्रमा गरिएको अध्ययनमा सन् २००९ मा ६ जोडी रहेको चिरकालिज हाल १८ जोडी पुगेको पाइएको छ। अनुसन्धान टोलीका सदस्य विराट रजकका अनुसार सन् २००४ मा १७ र २००६ मा ११ जोडी चिरकालिज भेटिएका थिए।
रजकका अनुसार समुदायमा संरक्षण शिक्षा, चेतना अभिवृद्धि, चोरी सिकार नियन्त्रण र बासस्थान नजिक मानवीय क्रियाकलाप घटेकाले चिरकालिजको सङ्ख्या बढ्न सहयोग पुगेको हो। मानिसले खरबारी र पाखोबारीमा घाँस काट्ने र पशुचरन हुने क्षेत्रहरूमा झाडी हट्दा आहारा खोज्न सहज वातावरण बनेको उनले बताए।
अनुसन्धानकर्ता केशव चोखालका अनुसार चिरकालिज समुद्री सतहबाट १,४०० देखि ३,६०० मिटर उचाइमा पाइने लोपोन्मुख प्रजाति हो। यसको भालेको पुच्छर लामो, आँखाको रङ रातो र शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने पोथी आकारमा सानो र पुच्छर छोटो हुने बताइएको छ। बिहान सूर्योदयअघि र साँझ सूर्यास्तपछि दुईपटक “चिरचिर” गर्दै कराउने भएकाले यसलाई चिरकालिज भनिन्छ।
‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन र सुदूरपश्चिममा ‘चेडु चरा’ नामले पनि चिनिन्छ। भिरालो क्षेत्रमा बासस्थान बनाउने यस पन्छीले एकपटकमा सातदेखि १५ वटा अण्डा पार्ने गर्छ।
डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णु अधिकारीका अनुसार चिरकालिजलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत लोपोन्मुख प्रजातिका रूपमा सूचीबद्ध गरिएको हो। हाल कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदी आसपासमा यसका अध्ययन कार्य जारी रहेको छ।
नेपाल पन्छीविद् सङ्घका अनुसार चिरकालिज अध्ययनका लागि दातृ निकाय टोलेडोजुले सहयोग गरेको छ। अध्ययनपछि प्राप्त हुने प्रतिवेदनका आधारमा संरक्षण कार्यक्रम सञ्चालन गरिने जैविक विविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताए। उनका अनुसार दुर्लभ पन्छी हेर्न विदेशी पर्यटक आकर्षित हुने भएकाले यसले स्थानीय रोजगारी र आयआर्जनमा समेत सहयोग पुर्याउनेछ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































