- कोशी प्रदेशसभाको बैठक मंसिर महिनामा मोरङको कटहरी गाउँपालिका कृषि थोक बजारबाट पुनः सुरु गर्ने निर्णय भएको छ।
- प्रदेशसभाका संरचना र कार्यालय नष्ट भएका कारण अस्थायी रूपमा नयाँ स्थानबाट सभा सञ्चालन गर्न लागिएको हो।
- कटहरी गाउँपालिकाले सभा सञ्चालनका लागि निःशुल्क संरचना उपलब्ध गराएको छ भने औपचारिक सम्झौता भने भएको छैन।
विराटनगर- जेनजी आन्दोलनका क्रममा भौतिक संरचना ध्वस्त भएपछि अवरुद्ध रहेको कोशी प्रदेशसभाको बैठक मंसिर महिनाबाट पुनः सुरु हुने भएको छ। विराटनगरको देवकोटा चौकस्थित प्रदेशसभा भवनमा भएको तोडफोड र आगजनीका कारण करिब दुई महिनादेखि प्रदेशसभा अवरुद्ध रहेको थियो। यसक्रममा प्रदेशसभाको बैठक मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारबाट सुरु गर्ने निर्णय गरिएको छ।
प्रदेशसभा सभामुख अम्बरबहादुर विष्टका अनुसार सभा सचिवालय, बैठक हल र कार्यालयहरू ध्वस्त भएकाले अस्थायी रूपमा सभा सञ्चालनका लागि नयाँ संरचना तयार पारिँदैछ। उनले भने, “हालको स्थानबाट सभा सञ्चालन गर्ने अवस्था छैन। त्यसैले विराटनगरसँग जोडिएको कटहरी गाउँपालिकास्थित महेशपुरमा रहेको कृषि थोक बजारबाट अस्थायी रूपमा सभा सञ्चालन गर्ने तयारी भइरहेको छ।”
सभामुख विष्टका अनुसार हालको संरचनामा रहेका कार्यालय, सुरक्षा आवास, सभा हल र सचिवालय सबैमा क्षति पुगेको छ। उनले थपे, “देवकोटा चौकस्थित भवनमा सबै कुरा जलेर नष्ट भएका छन्, त्यसैले कटहरीको संरचनाबाट सभा सुरु गर्ने निर्णय गरिएको हो। यसबारे अन्तिम निर्णय बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने अपेक्षा छ।”
प्रदेशसभा सञ्चालनका लागि विराटनगरको वीरेन्द्र सभागृह पनि प्रारम्भिक रूपमा विचार गरिएको थियो। तर सभागृहको भाडा, बैठक हलका सुविधाहरू र सचिवालयका लागि आवश्यक कार्यालयको अभाव भएकाले निःशुल्क रूपमा उपलब्ध कटहरी गाउँपालिकाको स्थान रोजिएको सभामुख विष्टले बताए।
उनका अनुसार मन्त्रिपरिषद्को निर्णय आएपछि सोमबारभित्र आवश्यक सरसामान, कागजात र फर्निचरहरू कृषि थोक बजारमा स्थानान्तरण गरिनेछ। जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवनमा करिब ३२ करोड रुपैयाँ बराबरको क्षति भएको उनले बताए। उनका शब्दमा, “देवकोटा चौक नजिकको भवनमा जेनजी आन्दोलनका क्रममा ३० देखि ३२ करोड रुपैयाँ बराबरको क्षति भएको तथ्यांक भौतिक पूर्वाधार मन्त्रालयले निकालेको छ। सोही दिन १३ वटा मोटरसाइकल र ८ वटा सरकारी तथा निजी सवारीसाधन जलेका थिए।”
यसैबीच, प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले भने प्रदेशसभा हालको स्थानमै मर्मत गरी सञ्चालन गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “सभामुखज्यू, मुख्यमन्त्रीज्यू, कोशी प्रदेशसभा अहिलेको ठाउँमै मर्मत गरेर सञ्चालन गर्न आग्रह गर्दछु।”
तर सभामुख विष्टले तत्काल त्यस्तो सम्भावना नभएको स्पष्ट पारेका छन्। उनले भने, “जलेको संरचनामा हल बनाएर मात्र सभा सञ्चालन गर्न सकिँदैन। सम्पूर्ण भवन पुनर्निर्माण गर्नुपर्ने हुन्छ, त्यसैले तत्कालीन स्थानबाट सभा सञ्चालन गर्न असम्भव छ।”
कटहरीको महेशपुरस्थित कृषि थोक बजारमा गरिएको स्थल निरीक्षणपछि सभा सञ्चालनका लागि उपयुक्त देखिएकाले त्यहाँ तयारी अघि बढाइएको सभामुख विष्टको भनाइ छ।
यस सम्बन्धमा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले गाउँपालिकाको कार्यसमिति र सर्वदलीय बैठकबाट निर्णय गरी सभा सञ्चालनका लागि अनुमति दिइएको जानकारी दिएका छन्। उनले भने, “हालसम्म प्रदेश सरकारसँग कुनै औपचारिक सम्झौता भएको छैन, तर मागअनुसार हामीले सभा सञ्चालनका लागि अनुमति पत्र उपलब्ध गराएका छौं। गाउँपालिकाका लागि यो गर्वको विषय हो— सातै प्रदेशमध्ये पहिलोपटक गाउँपालिकाबाट प्रदेशसभा सञ्चालन हुँदैछ।”
अध्यक्ष चौधरीका अनुसार सभा सञ्चालनका लागि गाउँपालिकाले निःशुल्क संरचना उपलब्ध गराएको हो। करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको उक्त संरचना एशियाली विकास बैंकले सन् २०७५ सालमा केन्द्र सरकारलाई हस्तान्तरण गरेको थियो। त्यसपछि केन्द्र सरकारले तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई सो संरचना प्रयोगका लागि उपलब्ध गराएको थियो।
प्रदेश सरकारले उक्त संरचनालाई प्रयोगमा ल्याउन नसकेपछि विशिष्ट सहकारी संघलाई सञ्चालनका लागि दिएको थियो। पछि संरचना जीर्ण बनेपछि, २०८१ सालमा गाउँपालिका अध्यक्ष बनेपछि चौधरीले त्यसलाई पुनः मर्मत गरी स्थानीय हाटबजार सञ्चालनमा ल्याएका थिए। हाल सो स्थानमा नियमित रूपमा हाटबजार लाग्दै आएको छ।
विराटनगरका उद्योगी–व्यवसायीहरूले त्यहाँ औद्योगिक ग्राम स्थापना गर्न माग गरे पनि पूरा हुन नसकेपछि केही वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले त्यही स्थानमा कृषि मेला समेत आयोजना गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































