अहिलेको ‘अनिश्चय’ र कोलाहलपूर्ण समयमा पनि हलहरुमा चलचित्रहरूको भिड छ। सीमितमात्र चलचित्र हेर्ने दर्शकमा पर्छु म। यस्तैमध्ये पछिल्लो पटक हलमा लागिरहेको ‘परान’ हेर्ने अवसर जुर्यो।
यो चलचित्र हेरेपछि नेपाली पर्दामा पनि एक फरक र शान्त अनुभूतिको आभास गरायो। पारिवारिक मूल्य, मान्यता र पुस्ताहरूबीचको सम्बन्धलाई केन्द्रमा राखेर बुनिएको यो चलचित्र, हतारको जीवनशैलीमा अभ्यस्त दर्शकका लागि एक भावुक र चिन्तनशील ‘ब्रेक’ बन्न पुग्यो।
बाइसकोप सिनेमा प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई कलाकार दिपक आचार्यले कथा तथा निर्देशनमार्फत जीवन्त पारेका छन्। यसमा विज्ञापन व्यवसायी रञ्जित आचार्य र स्थापित उद्यमी शेखर गोल्छा जस्ता व्यक्तित्वहरूको लगानी छ, जसले गर्दा एउटा पृथक कथामाथि गरिएको मिठो विश्वासका रुपमा यो चलचित्रलाई लिन सकिन्छ।
‘परान’ को कथा एउटा मध्यमवर्गीय परिवारको वरिपरि घुम्छ। यसले तीन पुस्ताबीचको सम्बन्ध, उनीहरूका आ-आफ्ना बुझाइ, संघर्ष र एक-अर्काप्रतिको निस्वार्थ स्नेहलाई पर्दामा उतारेको छ। चलचित्रले पछिल्लो समय परिवरभित्रै रहेर पनि एक्लोपनमा डुब्दै गएको समाजलाई पुन: हाम्रो सामाजिक मूल्यमान्यता र रितिथिति र संस्कृतितर्फ फर्काउने प्रयास गर्छ। पारिवारिक मूल्यका रुपमा बाबुआमाप्रतिको सम्मान, दाजुभाइबीचको भातृत्व प्रेम र देउरानी-जेठानीबीचको सकारात्मक सम्बन्धलाई चलचित्रले आदर्श रूपमा प्रस्तुत गरेको छ।
चलचित्रमा तीन पुस्ता (हजुरबुबा, छोरा-बुहारी र नाति) को उपस्थिति छ। उनीहरूको उमेर, समय र परिवेशअनुसार विचार व्यक्त गर्ने तरिका फरक भए पनि एक-अर्काप्रतिको सम्मान र मायामा कुनै कमी देखिँदैन। साथै कथाले सकारात्मक सन्देश मिठो शैलीमा दर्शकलाई पस्किन्छ। आफ्नो जन्मभूमिप्रतिको आदर, धर्म-संस्कृतिप्रतिको निष्ठा, र यहाँसम्म कि पशुपंक्षी (गाई, मौरी, कुखुरा) प्रतिको सकारात्मक दृष्टिकोणलाई पनि कथामा सुन्दर ढंगले बुनिएको छ।

मुख्य कुरा कथालाई कलाकारले गर्ने जीवन्त अभिनयले दिने न्यायले पनि परिष्कृत गर्छ नै। ‘परान’ को अर्को बलियो पक्ष यसका कलाकारहरू हुन्। चलचित्रमा मदन कृष्ण श्रेष्ठ, नीर शाह, केकी अधिकारी, पूजा चन्द, प्रविण खतिवडा, र महेश त्रिपाठीजस्ता खारिएका र सिद्धहस्त कलाकारहरूको अभिनय छ। विशेष गरी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको भावनात्मक र परिपक्व अभिनयले दर्शकको मन छुन्छ। अन्य कलाकारहरूले पनि आ-आफ्नो भूमिकालाई जीवन्त पारेका छन्, जसले गर्दा चलचित्र ‘काल्पनिक’ भन्दा बढी ‘आफ्नै’ लाग्न पुग्छ।
बिना कुनै तडकभडक, अश्लीलता, वा हिंसात्मक दृश्यहरू, चलचित्रले दर्शकलाई तीन घण्टासम्म बाँधेर राख्न सफल हुनु यसको निर्देशकीय सफलता हो। कथाकारले दर्शकलाई ‘हँसाउँछु’ वा ‘रुवाउँछु’ भनेर दबाब नदिई, कथाको प्रवाहसँगै दर्शक कतै मुस्कुराउन त कतै आँखा रसाउन बाध्य हुन्छन्।
अधिकांश समीक्षक तथा दर्शकको प्रतिक्रियाअनुसार, ‘परान’ को सबैभन्दा ठूलो विशेषता यसको ‘सादगी’ हो। चलचित्रमा कुनै भद्दा दृश्य, नकारात्मक संवाद, वा जवरजस्ती थोपरिएको द्वन्द्व छैन। यसले प्रमाणित गरेको छ कि दर्शकलाई रुवाउन वा हँसाउन ठूला घटनाक्रम वा तोडफोड नै चाहिँदैन, स-साना भावनात्मक पलहरू नै काफी हुन्छन्।
बिना कुनै तडकभडक, अश्लीलता, वा हिंसात्मक दृश्यहरू, चलचित्रले दर्शकलाई तीन घण्टासम्म बाँधेर राख्न सफल हुनु यसको निर्देशकीय सफलता हो। कथाकारले दर्शकलाई ‘हँसाउँछु’ वा ‘रुवाउँछु’ भनेर दबाब नदिई, कथाको प्रवाहसँगै दर्शक कतै मुस्कुराउन त कतै आँखा रसाउन बाध्य हुन्छन्।
समग्रमा ‘परान’ एउटा यस्तो चलचित्र बनेको छ, जसलाई घरका तीनै पुस्ताले एकैसाथ बसेर हेर्न र मनन गर्न सक्छन्। यो चलचित्रले समाजमा ठूलै क्रान्ति नल्याउला, तर यसले दर्शकको चेतनामा सकारात्मक प्रभाव अवश्य छोड्छ नै। अस्थिर बजार र निराशाजनक परिवेशका बीचमा पनि यस्तो सरल र सकारात्मक कथामा लगानी जुट्नुले नेपाली चलचित्र क्षेत्रका लागि शुभसङ्केत दिएको छ। ‘परान’ ले एउटा सुन्दर ‘नजिर’ स्थापित गरेको छ। तडकभडक र कोलाहलबिना पनि सरल, सिस्ट र सकारात्मक कथाले दर्शकको मन जित्न सकिन्छ भन्ने प्रभाव कम्तीमा म जस्तो दर्शकलाई पारेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































