- कात्तिक १५ देखि १७ गतेसम्मको अविरल वर्षाले कोशी प्रदेशका १२ हजार ४३२ हेक्टरमा लगाइएको धानबालीमा ठूलो क्षति पुर्याएको छ।
- मोन्था चक्रवातको प्रभावले झापा, मोरङ र सुनसरीमा क्रमशः २१,८२०, १६,४२०, र १२,६५८ मेट्रिक टन धानबाली नष्ट भएको छ।
- तरकारी खेतीमा ४ करोड रुपैयाँभन्दा बढीको क्षति भएको र तराई क्षेत्रमा २० प्रतिशत धान खेतमा ढलेको छ।
विराटनगर- मोन्था चक्रवातको प्रभावसँगै कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा कृषि बालीमा ठूलो क्षति पुर्याएको छ। विराटनगरस्थित प्रदेश कृषि निर्देशनालयका प्रारम्भिक विवरण अनुसार प्रदेशभर करिब ५६ हजार २६ मेट्रिक टन धानबाली नष्ट भएको छ।
गुरुङले भनिन्, “अविरल वर्षाले धानबालीसँगै सुनसरी जिल्लामा तरकारी खेतीमा पनि ठूलो क्षति पुगेको छ। तथापि, धानबालीमा बढी असर परेको छ। तराई क्षेत्रमा करिब २० प्रतिशत धान खेतमा ढलेको र त्यस मध्ये २५ प्रतिशत धान नष्ट भएको छ। पहाडी जिल्लामा ८ देखि १० प्रतिशत धान ढलेको र त्यसमा पनि करिब २५ प्रतिशत क्षति भएको छ। हिमाली क्षेत्रमा करिब ६ प्रतिशत धान लडे पनि, त्यसमध्ये २५ प्रतिशत धानबाली नष्ट भएको अनुमान गरिएको छ।”
निर्देशनालयका अनुसार, झापामा २१ हजार ८२० मेट्रिक टन, मोरङमा १६ हजार ४२० मेट्रिक टन, र सुनसरीमा १२ हजार ६५८ मेट्रिक टन धानबालीमा क्षति पुगेको छ। त्यसैगरी, उदयपुरमा १ हजार २९२ मेट्रिक टन, इलाममा ८९८ मेट्रिक टन, भोजपुरमा ७४० मेट्रिक टन, र खोटाङमा ४५० मेट्रिक टन धानबाली नष्ट भएको निर्देशनालयले जनाएको छ।
धानबालीसँगै तरकारी खेतीमा पनि ठूलो क्षति भएको छ। अविरल वर्षाले सुनसरी जिल्लामा २ सय हेक्टर क्षेत्रफलमा लगाइएको करिब २ हजार मेट्रिक टन तरकारी खेती नष्ट गरेको हो। तरकारी बालीको बीमा नभएको कारण कृषकहरूले करिब ४ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति व्यहोर्नुपरेको निर्देशनालयले जनाएको छ।
निर्देशनालयका प्रारम्भिक अनुमान अनुसार, मोन्था चक्रवातको कारण उत्पन्न वर्षा, बाढी र हावाहुरीले प्रदेशभर करिब २ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कृषि क्षति भएको छ।
मोन्था चक्रवातको प्रभावसँगै गत कात्तिक १५ देखि १७ गतेसम्म परेको लगातार वर्षाले कोशी प्रदेशको कृषिक्षेत्रमा ठूलो असर पुर्याएको हो।

भर्खरै
लोकप्रिय






































































































































































































