- नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर सुरु भई सुदूरपश्चिमका विभिन्न स्थानमा पुग्ने योजना बनाइएको छ।
- क्यान अध्यक्षले क्रिकेटले नेपाललाई विश्वभर चिनाएको बताउँदै ट्रफी टुर सफल बनाउन सहयोगको आग्रह गरे।
- सुदूरपश्चिम रोयल्सका प्रमुखले टूरमा सहभागिता जनाउन अनुरोध गर्दै यस वर्ष प्रथम हुने लक्ष्य रहेको भने।
धनगढी- सुदूरपश्चिममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी टुर सुरु भएको छ । कैलालीको टीकापुरस्थित पर्यटकीय स्थल टीकापुर पार्कबाट शुक्रबार ट्रफी टुरको सुरुवात गरिएको हो ।
ट्रफी टुरको सुरुवात गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटका कारण नेपाललाई विश्वभर चिनाएको बताए । उनले सुदूरपश्चिम क्रिकेटको उर्भर भूमि भएकाले यो ट्रफी टुरलाई सफल बनाउन सहयोगका लागि आग्रह गरे ।
सुदुरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले ट्रफी टुरमा सहभागिता जनाउन सबैलाई आग्रह गरे । उनले गएको वर्ष दोस्रो भएकोमा यस वर्ष सुदूरपश्चिम रोयल्स प्रथम हुने आसाका साथ मैदानमा उत्रिने बताए ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो चरणको ट्रफी टुर सुदूरपश्चिममा कैलालीको टीकापुरबाट सुरु हुनु टीकापुरका लागि गौरवको विषय भएको बताए । उनले ट्रफी टुर सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कैलालीको टीकापुर पार्कबाट सुरु भएको ट्रफी टुर पहिलो दिन टीकापुर बजार हुँदै, कैलालीको चिसापानी, लम्की, बौनिया, सुखड, मसुरीया, चौमाला, अत्तरीया हुँदै कञ्चनपुरको महेन्द्रनगर पुग्ने र दोस्रो दिन कैलालीको धनगढी अत्तरीया लगाएतका स्थानमा ट्रफी टुरको र्याली निकालिने सुदूरपश्चिम रोयल्सले जानकारी दिएको छ ।
विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने ट्रफी टुरको उद्देश्य रहेको बताइएकाे छ ।
ट्रफी टुरको शुरुवात गर्ने क्रममा स्थानीयहरुले थारु संस्कृति झल्किने किसीमका विभिन्न झाँकीहरु समेत प्रदर्शन गरिएका थिए ।
सुदूरपश्चिम रोयल्स यस वर्ष पनि गत सिजनका मार्की तथा कप्तान दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिनेछ ।
सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन रहेका छन् ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।

भर्खरै
लोकप्रिय






































































































































































































