- जनमत पार्टीका दुई र अन्य दुई सदस्य अनुपस्थित भएका कारण मुख्यमन्त्री सोनारले विश्वासको मत लिने समय जटिलता देखिएको छ।
- मुख्यमन्त्री सोनारलाई केही दलको समर्थन मिले तापनि एमाले र कांग्रेसले विपक्षमा मतदान गर्ने घोषणा गरेका छन्।
- मधेस प्रदेशसभामा १०४ सदस्य रहेका कारण विश्वासको मत पाउन मुख्यमन्त्रीलाई बहुमत सदस्यको समर्थन आवश्यक छ।
जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) प्रदेशसभामा विश्वासको मत लिँइराख्दा सरकारमै रहेका जनमत पार्टीका दुई सहित चारजना प्रदेशसभा सदस्य अनुपस्थित भएका छन्।
जनमत पार्टीका प्रदेशसभा सदस्य निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह तथा नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य बिमला अन्सारी तरन्नुम र राप्रपाकी प्रदेशसभा सदस्य कञ्चन विच्छा अनुपस्थित भएका छन्।
सिंह र साहले जनमत पार्टी विभाजन भएर बनेको जनस्वराज पार्टीमा सनाखत समेत गरिसकेका छन्। दुबैजनाले निर्वाचन कार्यालय मधेस प्रदेशमा पुगेर सनाखत गरेका थिए तर सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उनीहरु अहिले जनमत मै रहेका छन्। अन्सारी र विच्छा पार्टीको निर्णय अनुसार तटस्थ बसेका छन्।
मुख्यमन्त्री सोनल प्रदेश सभामा विश्वासको मत मागेपछि नेकपा एमाले र नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने सदनमा सम्बोधन गर्दै बताएको छ।
सोनललाई जनता समाजवादी पार्टीको १८, जनमतको ११, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एकिकृत समाजवादीका सात र नागरिक उन्मुक्तिको एक मत पाउने सम्भावना छ।
मधेस प्रदेशसभा १०७ सदस्यीय भएकोमा तीनजना प्रदेशसभा सदस्य निलम्बनमा परेपछि हाल १०४ जना प्रदेशसभा सदस्य कायम छन्। मुख्यमन्त्रीले विश्वासको मत पाउन बहुमत सदस्यको मतको आवश्यकता छ।
सोनल गत असोज २९ गते पाँच दलका ५६ सांसदको सर्मथनमा चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त भएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































