- मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)लाई विश्वासको मत नपाउने भएपछि मधेस सरकार संकटमा परेको छ।
- मधेस प्रदेशसभा सदस्य संख्या १०४ रहेपनि सोनलले ५२ मत मात्र पाउने अनुमान गरिएको छ।
- माओवादी केन्द्रका दुई प्रदेशसभा सदस्य तटस्थ रहेकाले सोनलले बहुमतका लागि आवश्यक ५३ मत जुटाउन सकेनन्।
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत नपाउने भएका छन्। सत्तापक्ष दल माओवादी केन्द्रका दुई प्रदेशसभा सदस्यले पक्ष वा विपक्ष कुनैमा मत नदिएपछि मधेस सरकार संकटमा परेको हो।
मुख्यमन्त्री सोनलले विश्वासको मत पाउन बहुमतका लागि आवश्यक एक जना प्रदेशसभा संख्या घटेको हो। मधेस प्रदेशसभा १०७ सदस्यीय रहेकोमा तीन जना निलम्बन भएपछि हाल १०४ जना कायम छ। मुख्यमन्त्री सोनलले विश्वासको मत पाउन बहुमतका लागि ५३ जना प्रदेशसभा सदस्यको आवश्यकता रहेकोमा सोनल नेतृत्वको सरकारलाई ५२ मत मात्र पाउने देखिएको हो।
सोनललाई जनता समाजवादी पार्टी नेपालका १८, जनमत पार्टीका ११, लोकतान्त्रिक समाजवादी पार्टीका ८, नेकपा एकीकृत समाजवादी पार्टीका ७, माओवादी केन्द्रका ७ र नागरिक उन्मुक्ति पार्टीका १ गरी ५२ जना मात्र पुगेपछि उनले विश्वासको मत नपाउने भएका छन्।
माओवादी केन्द्रका दुई जना तटस्थ बस्ने तथा जनमत पार्टीबाट फुटेर बनेको जनस्वराज पार्टीमा सनाखत समेत गरिसकेका दुई जना अनुपस्थित भएपछि सोनल विश्वासको मत नपाउने देखिएको हो।
विश्वासको मत नपाउने देखिएपछि मुख्यमन्त्री सोनल तथा दुई जना विनाविभागीय मन्त्री महेशप्रसाद यादव र कनिष पटेल सदनबाट बाहिर निस्केपछि सत्तापक्ष दलका प्रदेशसभा सदस्यहरुले सदनमा सरकारको उपस्थिति नरहेको भन्दै नियमापति जनाएपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए।
जनमत पार्टीका सतिशकुमार सिंह अल्पमतमा परेपछि विश्वासको मत लिने दिने राजीनामा घोषणा गरेपछि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
सोनल पाँच दलका ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए तर उनी नियुक्त भएपछि जसपाका एकजना प्रदेशसभा सदस्य विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेका हुन् भने दुई जना जनमतका प्रदेशसभा सदस्यले जनस्वराजमा सनाखत गरेका थिए। यद्यपी सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै जनस्वराजलाई मान्यता नदिन भनेपछि उनीहरु आजको बैठकमा अनुपस्थित भएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































