दाङ – गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर एक बालिकाको मृत्यु भएको छ।
गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए।
घटना गत बिहीबार गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत औषधि खाँदै गर्दा घाँटीमा अड्किएको र सोही कारण केही मिनेटमै बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरी शव परिवारलाई बुझाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बमले जानकारी दिए। पोष्टमार्टम रिपोर्ट आएपछि थप कुरा प्रष्ट हुने प्रहरीको भनाइ छ।

भर्खरै
लोकप्रिय






































































































































































































