- विभागीय क्लब एपीएफ एफसीले टाइ ब्रेकरमा आर्मी क्लबलाई हराउँदै झापा महिला गोल्डकपको फाइनल प्रवेश गर्यो।
- खेलको निर्धारित ९० मिनेटपछि अतिरिक्त समयमा एपीएफले बराबरी गर्दै फाइनलमा पुग्न सक्षम भएको थियो।
- फाइनलमा एपीएफले नेपाल पुलिस क्लबको सामना गर्नेछ, विजेताले १० लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ।
माेरङ – त्रिभुवन आर्मी क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै विभागीय क्लब सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसी जारी झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा शनिबार भएको दोस्रो सेमीफाइनलमा आर्मीलाई टाइ ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो।
रोमान्चक बनेको खेलमा दुवैटोली पहिलो हाफमा गोल गर्न असफल भएका थिए। यसक्रममा २६ औं मिनेटमा एपीएफकी सरु लिम्बूले गरेको सशक्त प्रहार, केही सानो दुरीले आर्मीको गोलपोष्ट बाहिर भएको थियो। त्यसैगरि, आर्मीले जवाफी प्रहार गर्ने क्रममा खेलको २९ औं मिनेटमा विमला चौधरीले हेडमार्फत गरेको प्रहार एपीएफको पोष्टको माथिल्लो बारबाट बाहिरिएको थियो। पहिलो हाफमा गोल हुन नसकेपनि, दोस्रो हाफमा खेल थप प्रतिस्पर्धात्मक बनेको थियो। सोही क्रममा खेलको ६३ औँ मिनेटमा आर्मी क्लबले अग्रता लिन सफल भयो।
एपीएफकी रक्षक निशा थोकर र गोलरक्षक अञ्जना रानाबीचको आवश्यक समन्वय नहुँदाको फाइदा उठाउँदै आर्मीकी चन्द्रा भण्डारीले गोल गरिन्। एक शुन्यको अग्रतासंगै आर्मीले त्यसपछि खेलमा एपीएफमाथि दबाव बनाउँदै लगेको थियो। यद्धपि, खेलमा कम ब्याक गर्ने क्रममा एपीएफले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा बराबरी गोल फर्काएको थियो। यहीबाट सेमीफाइनलको नतिजा एपीएफको पक्षमा गएको थियो।

आर्मीकी विमला चौधरीको ह्याण्डपछि एपीएफले आर्मीको पोष्टबाट करिब २५ यार्डको दुरीमा फ्रिकिकको अवसर बनाएको थियो। सोही फ्रिकिकले एपीएफलाई खेलमा फर्काएको थियो। कप्तान अनिता बस्नेतले प्रहार गरेको सो फ्रिकिक गोलमा परिणत भएपछि निर्धारित समयको खेल टाइ ब्रेकरतर्फ धकेलिएको थियो। टाइ ब्रेकरमा एपिएफकी गोलरक्षक अञ्जनाको प्रदर्शन अब्बल रहेको थियो।
आर्मीका लागि विमला चौधरी, र सुस्मिता चौधरीले प्रहार गरेको पेनाल्टीलाई अञ्जनाले बचाब गरेकी थिइन्। आर्मीको लागि अनिता लम्जेल, विमला विकले गोल गरेका थिए। अर्कोतर्फ, विजेता भएको एपीएफका लागि कप्तान बस्नेतसहित, सविता राना, निशा थोकर, र रश्मिकुमारी घिसिंगले गोल गरेका थिए। एपीएफबाट रेनुका हमालले गरेको प्रहार भने आर्मीकी गोलरक्षक कोपिला खड्काले बचाव गरेकी थिइन्। खेलअवधिभर उत्कृष्ठ प्रदर्शनी गरेकी एपीएफकी गोलरक्षक अञ्जना प्लेयर अफ दि म्याच भइन्। त्यसैगरि, जित नात पारेको एपीएफले अब सोमबार हुने उपाधि भिडन्तमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। पुलिसले संकटा फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। उपाधि हात पार्ने टोलीले १० लाख १० हजार रुपैया र उपविजेतामा सीमित हुने टोलीले ५ लाख रुपैया हात पार्नेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































