
नेपालगञ्ज – निराक्षी बर्मा बेडमा पल्टिएकी छन्। धनदेवी रावतभित्र भुइँमा बसेर ऐय्या–ऐय्या गर्दैछिन्। अरु दुई जना कविता परियार र केशरा यादव बाहिर ढोका छेउमा खुट्टा पसारेर बसेका छन्।
निराक्षी, धनदेवी, कविता र केशराको आइतबार सुत्केरी हुने दिन हो। विभिन्न गाउँका यी चारैजना शनिबार नेपालगञ्ज–२० मनिकापुर स्वास्थ्य चौकीमा आएका छन्। स्वास्थ्य चौकीमा चाहिँ एउटा मात्रै बेड छ।
बेडमा बसेकी निराक्षी मात्रै होइन, भुइँमा बसेका तीन जना पनि छट्पटाइरहेका छन्। अनमी आशा सार्कीलाई यता हेर्नु कि उता, दौडादौड छ। उनी कहिलेभित्र त कहिले बाहिर गरिरहेकी छन्। सुत्केरी गराउने ठाउँ र एउटा बेडमात्रै रहेकाले चार जनामध्ये कसको पहिला ‘घर’ खुल्छ, उसैलाई भित्र लैजान उनी हस्याङफस्याङ गर्दैछिन्।
‘सबैको ८–८ सेन्टिमिटर घर खुलेको छ, एकैपटक होलाजस्तो छ, भुइँमै बच्चा जन्माउने भए, अनमी सार्कीले दुःख सुनाइन्, कम्तीमा ३–४ वटा बेडसम्म भइदिएको भए सुत्केरी हुन आएकाहरु यसरी भुइँमा त बस्नु पर्थेन,’ उनले देश सञ्चारसँग भनिन्।
बेडकी निराक्षी, भित्र भुइँमा रहेकी धनदेवी र बाहिर ढोकाछेउमा भुइँमा बसेका कविता र केशराले कष्टपूर्ण आवाज निकालिरहँदा अनमी सार्कीको आँखामा टिलपिल टिलपिल आँशु आइरहेका थिए। उनी आफुले राम्ररी काम गर्न नसकेर होइन कि बस्नेसम्म ठाउँ नभएर व्यथाले च्यापेका महिलाहरुको पीडा देखेर रोइरहेकी थिइन्।
व्यथाले च्यापेका महिलामध्ये कोहीले वान्ता गरेका छन्। कोहीले बसेकै ठाउँमा दिसा चुहाएका छन्। अन्तिम अवस्था भएकाले शौचालय जाँदा उतै बच्चा खस्ने चिन्ताले सकेसम्म जान दिइएको थिएन।
स्थानीयबासी र करारमा स्वास्थ्य चौकीमा काम गरिरहेकी सार्कीले सुत्केरी व्यथा लागेका महिलाले बस्ने ठाउँ नपाएपछि प्रांगणमै रहेको टायलले छाएको जीर्णघरमा सफा गर्न लगाएर बस्नेसम्म मेसो मिलाउँदै थिइन्। त्यो जीर्ण घरको टायल कतिबेला खसौँलाजस्तो गरी झुण्डिरहेको छ।
यसैबीच, अपरान्ह चारमध्ये धनदेवीले पहिला बच्चा जन्माइन्। उनले दुई सय आठ सय ग्रामको छोरी जन्माइन्। छोरी जन्माएकी धनदेवीलाई सार्कीले दिउँसो सफा गरिएको टायलले छाएको घरमा बस्ने व्यवस्था मिलाएकी छन्। अरु तीनमध्ये निराक्षी बच्चा जन्माउने तर्खरमा छिन्। अर्थात् उनको घर खुलिसकेको छ। रातिसम्ममा सबै जना सुत्केरी हुने अनमी सार्कीले बताइन्।
मनिकापुर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउनेको संख्या अधिक रहेको छ। अनमी सार्कीका अनुसार साउनयता ६५ जना स्वास्थ्य चौकीमा आएर सुत्केरी भएका छन्। शनिबार नै ९ र १० गते आएका चार जनाले बच्चा जन्माएका थिए। अनमी सार्कीका अनुसार अफसरुन खाँ, कमरजहाँ पठानी, रेश्मी खान र गुडिया बेहनाले शनिबार स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका थिए।
गर्भवती सुत्केरीको यत्रो चाप रहेको मनिकापुरमा बेड एउटा मात्रै रहेको छ। विगत चार वर्षदेखि बेड संख्या बढाउन माग गरिएपनि सुनुवाई भएको छैन। प्रांगणमै रहेको वडा कार्यालयका अध्यक्ष कृष्ण कार्कीले एक हप्ताभित्रै जीर्ण घरलाई व्यवस्थित गरेर बेड थप्ने उद्घोष गरे।
‘मैले भनिरहेको छु, प्रक्रिया मिलाएर तत्कालै बेड थप्ने आजै घोषणा गर्छु,’ वडाध्यक्ष कार्कीले चारै जना सुत्केरी र आफन्तीहरुको अगाडि भने।
मनिकापुरमा गतवर्ष १ सय २६ जनाले स्वास्थ्य चौकीमा आएर बच्चा जन्माएका थिए। १५ हजार जनसंख्या रहेको मनिकापुरमा स्वास्थ्य चौकीमै गएर बच्चा जन्माउने लहर नै चलेको छ। अनमी सार्कीले डेलिभरी हुने बेड दुई वटा र बस्ने चार वटा बेड भइदिए सहज हुने बताइन्।
अझ रातको समयमा त मनिकापुरमा अनमी सार्कीलाई आपत नै पर्ने गर्छ। लाइन गएको बेलामा बत्तिको व्यवस्था छैन।