
काठमाडौँ – बाराको कलैया उपमहानगरपालिकास्थित कोइरिया घर भएका वीरेन्द्रप्रसाद राउत कुर्मी छिमेकी नन्दलाल राउत कुर्मीसँग भनिरहन्थे, ‘तिम्री भाईकी नातिनी र मेरा छोरा विशाल पटेलबीच विवाह गरि दिउँ।’
६५ वर्षीय नन्दलाल इन्कार गर्थे। आर्थिक अवस्था बलियो भएका नन्दलाल अविवाहित थिए। उनी भाई अम्बिका राउत कुर्मीसँग बस्दै आएका थिए।
अम्बिकाका एकमात्र छोरा १० वर्षअघि घरबाट निस्किएर फेरि फर्किएनन्। त्यसयता अम्बिका, उनका तीन नातिनी र नन्दलाल मात्र परिवारमा थिए।
विवाह नगरेपनि परिवारले मुल व्यक्ति नन्दलाललाई नै मान्दै आएको थियो। अम्बिकाको नातिनीसँग छोराको विवाह गरिदिए सबै सम्पत्ती आफ्नो हुने सोच ४५ वर्षीय वीरेन्द्रको थियो।
यसैबीच, गत शनिबार साँझ घर बाहिर नन्दलालको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या भयो। घटनाको एक दिनपछि प्रहरीले वीरेन्द्रलाई नियन्त्रणमा लियो। अनुसन्धानकै क्रममा वीरेन्द्रका बुबा ६५ वर्षीय बैवैजनाथ कुर्मी र छोरा १९ वर्षीय विशाल पनि पक्राउ परे।
बाराकै अमृतगञ्जका ५५ वर्षीय राम अयोध्यादास तत्मा पनि पक्राउ परे। बारा प्रहरीले चारै जनालाई मंगलबार सार्वजनिक गरेको छ। अझै दुई जना फरार रहेको बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए।
प्रहरीका अनुसार वीरेन्द्रकै समूहले केही समय अघि नन्दलालको दुई विघामा फैलिएको माछापोखरी खनेका थिए। सरकारी अनुदानमा खनिएको उक्त माछा पोखरी खन्ने क्रममा अनुदानको हिस्सा नपाएको र नन्दलालले ज्याला मात्र दिएर हेपेको वीरेन्द्रले प्रारम्भिक बयानमा बताएका छन्।