विराटनगर- राष्ट्रलाई एकताको सुत्रमा बाँधेर एकढिक्का बनाएका पूर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती र एकतादिवसको अवसरमा विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
यस अवसरमा नेपाल विद्यत परिषद् विराटनगरले जिल्ला प्रशासन कार्यालय मोरङबाट र्यालीको आयोजना गरेको थियो । उक्त र्याली बजार परिक्रममा गर्दै स्थानीय जनआन्दोलन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।
सो क्रममा विद्यत् परिषद्का केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले राष्ट्र एकीकरण गरेका राजा पृथ्वी नारायण शाहले सिकाएको मार्गमा नेपाली जनता हिड्नुपर्ने औल्याएका थिए।
विद्यत परिषद् सचेतना जगाउने संस्था भएकाले यतिवेला राष्ट्रवादी शक्तिको कमजोर हुदै गएको र त्यसलाई एक बनाउनुपर्ने बेला आएको उनले बताए।
त्यसैगरि, कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य विश्वमोहन थापाले ढिलै भएपनि सरकारले पृथ्वी नारायण शाहको जन्मजयन्ती र एकता दिवस मनाउन पुनः शुरु गरेकोमा बधाइ दिए।
कार्यक्रममा पूर्व मन्त्री बद्रीप्रसाद मण्डल, परिषद्का अध्यक्ष जीत बहादुर आर्यालको पनि सहभागिता रहेको थियो।
त्यसैगरि, विराटनगरको सीमावर्ती क्षेत्र रानीमा पनि कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य उद्धवप्रसाद दाहालले पृथ्वी नारायण शाहकै योगदानका कारण देशबासीले आफुलाई शिर ठाडो पारेर नेपाली भन्न पाएको विचार राखे। कार्यक्रममा राष्ट्रबादी युवा समूहका अध्यक्ष मोहम्मद मुस्लिम मियाँ, अर्जुनकुमार क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।