
महाकविको जीवन बादल, वर्षा, झरी, हिउँदले ढाकिएको थियो।यस वर्षाको समयमा कहिलेकाही टुप्लुक्क घाम लागेको टाटो जस्तो पनि दखिएको थियो। तर अन्धकार ठूलोको ठूलै, घामको टाटो सानोको सानै रह्यो। त्यसमाथि हेमन्त र शिशिरको ऋतुको जाडोले उहाँको शरीरलाई कक्रक्क पार्न खोज्दथ्यो।
सांसारिक जाडोले गर्दा हात काठिएर कलम समेत समात्न नसकी उहाँ हृदयका उच्च उद्गार र अनुभूतिहरु यसै रुमलिन्थे। प्रकाश नदेखिए त्याग-तपस्याबाट विचलित हुनुपर्ने सम्भावना बराबर उठ्द्थ्यो। कविले सांसारिक निराशा र दु:खको शीत र झरीलाई हटाइ सुखवादको पहारिलो घाम जनसमक्ष लगाउन प्रशस्त योगदान दिनुभई भवष्यका निम्ति उज्जवल बाटो देखाइ दिनुभएको छ।महाकविले आफ्नो संघर्षमय वातावरण देखेर नै निद्रा र कुम्भकर्णको महत्व जान्नु भएको र परिश्रमीको मेहनत बुझ्न सक्नु भएको हो।
पिता पण्डित तिलमाधव देवकोटाले लेखेका भक्तिरसका कविताहरु बाँसको कलमले रातो मसीमा चोपी सार्दाखेरी नै उहाँलाई पितृकविता कण्ठाग्र हुन्थ्यो। कविको सुन्दर अक्षरले नै बुवालाई रिझाउनु भएको थियो। वि.सं. १९७६ मा महाकवि १० वर्षको उमेर हुँदा अनश्रुत निम्नोक्त कविता निस्कियो
घनघोर दु:ख सागर संसार जान भाई
नगरे घमण्ड कहिले मर्नू छ हामीलाई
वाल्मीकीले प्राथमिक ‘मा निषाद!’ र भानुभक्तको प्राथमिक प्रस्फुटन ‘भरजन्म घाँसतिर मन दिइ धन कमायो’ जस्तो देवकोटाको पाइएको सर्वप्रथम मौलिक प्रस्फुटन कविता यही हो।एक पटक त प्रहरी त्रैमासिक प्रकाशन ‘सुमन-३’ कविको सर्वप्रथम कविता भनी यही छाँटका निम्नोक्त हरफहरु पनि प्रकाशित भएका रहेछन्।
संसार घोर दु:ख सागर जान भाई
नगरे घमण्ड जानु छ हामीलाई
तर मेरो अध्ययन अनुसन्धान अनुसार यस्तो किसिमको कही कही फरक भएको कविता पहिलो कविता भएको लागेन। मैले माथि भनेअनुसारको कविता नै कविको सर्वप्रथम वास्तविक कविता हो भनी मलाई निश्चय लागेको छ। महाकविले पहिलो कविता भएकाले वास्तविक खोज अनुसार लेख्नु पर्ने हुनाले यथार्थ लेखिएको हो। केही कुरा नमिल्न भए पनि भाव केही शब्द मिल्ने कविको प्रथम कविता भनी प्रहरीले प्रकाशित गरेको स्तुत्य छ। कविको प्रथम उद्गारबाट नै भविष्यको संकेत गरेजस्तो भान हुन्छ। संसार दु:खले भरिएको छ भनी स्पष्ट भनिएको छ।
हुन त यो दु:ख निवारण गर्न कविले गर्व नगरीकन खूब प्रयत्न गर्नुभयो। दु:खमाथि सुख पलाउन श्रम गरी कविले हँसिलो संसारको कामना गर्नुभयो। बालकदेखि नै काव्यमा व्युत्पत्ति देखेर,उहाँका पिता तिलमावध देवकोटाको उहाँलाई पण्डित बनाउने इच्छा थियो। यही इच्छा हुनाले बालक छोराको व्युत्पति देखाई तीनधारा पाठशालामा भर्नाका लागि तिलमाधवले प्रधानमन्त्री चन्द्रशमशेर कहाँ निवेदन दिनुभएछ। चन्द्रशमशेरले पनि पाठशालामा भर्ना गरिदिनु भनी प्रमाङ्गी दिनुभएछ। तर यो कुरा तिलमाधवले घरमा गर्दा कविकी आमा र दाज्यू लेखनाथले मान्नुभएनछ।
बाबुबाट घरमा नै संस्कृत विद्या सिक्न सक्ने हुनाले, साहिलो छोरालाई अंग्रेजी स्कुलमा नै पढाउनुपर्छ भन्ने सबैको आग्रह पिताले स्वीकार्नुभयो। ११ वर्ष लागेपछि कवि १९७७ साल चैत्र महिनामा दरवार हाइस्कुलको पञ्चम कक्षामा भर्ना हुनुभयो। कविको अंग्रेजी दक्षता पनि बढ्दै गएकाले सप्तम कक्षामा पुग्दा वि.सं. १९८० देखि नै टुटेफुटेका अंग्रेजी कविताहरु बनाउनुहुन्थ्यो। नेपालको प्राकृतिक आबहवाको प्रेरणाले कवि बन्ने सोख बढिसकेको थियो।कविलाई यो प्राकृतिक प्रस्फुटन कौमारावस्थादेखि नै जागेको बुझ्न सकिन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाका छिमेकी नित्यराज पाण्डे । तस्बिर : बर्षा शाह/देश सञ्चार
स्कुलमा कविको पढाई पनि जोडसँग चल्दै गएको थियो। उहाँको जेहनले मेहनत बढाउँदै गयो र निपुणता फस्टाउँदै आयो। देवकोटा- परिवार प्रतिष्ठित भए पनि खान लाउनलाई कविका बाबुको पालादेखि नै पुगेस्- पुगेस् हुन्थ्यो। ठूलो परिवार हुनाले चाडबाड चलाउन त कठिनै पर्दथ्यो।कविले पहिलेदेखि नै कमजोर आर्थिक अवस्थामा जीवन बिताउनु भएको हो। बालखैकालदेखि उहाँमा कविताको सागर भएकाले अनवरत रुपमा कविताहरु लेखिरहनुहुन्थ्यो।
फुर्सदमा भयो की मानसपटलमा दौडिरहेका कविताका हरफहरु जे भेटियो त्यहीमा उतार्न हतार हुन्थ्यो कविलाई। कहिले कापीमा उतार्नु भयो त कहिले चुरोटको खोलमा पनि।उहाँका कविता कति च्यातिए, कति फालिए, कति हराएर गए। उहाँ ट्युसन पढाउँदा आफ्ना मन खाएका विद्यार्थीहरुलाई कुनै दिन कविता नै लेख्न लगाउनुहुन्थ्यो र आफूले पनि लेख्नुहुन्थ्यो। मैले पारिवारका सदस्यहरुसँग बुझ्दा उहाँको उमेर बित्दै जाँदा २५ वर्षको उमेरमा पहिलो प्रकाशित कविता ‘पूर्णिमाको जलनिधि’ शीर्षकमा वि.सं १९९१ साल मार्ग १५ गते शुक्रबारको गोरखापत्रमा देखा पर्यो।नेपालको इतिहासमा गोरखापत्रको महत्वपूर्ण स्थान हुनाले महाकविको यो कृति पनि गोरखापत्रमा छापिनु गौरवको विषय बन्छ जस्तो लाग्छ मलाई। उक्त कविता यस्तो थियो।
पूर्णिमाको सुन्दरतामा
उछिलियि, उछिलियि गहिराई
उठ्छन् लहरी, भाषा तटमा
ठकुरायी, ठकुरायी
गंभीरताको गुँज्दछ गाना
मेरो प्राण पवनमा
भावहरुका उठ्छन् लहरी
लहरायी, लहरायी
भलहरुकन भित्र उभारी
खिच्छन् किरण किरण
सुखका सुन्दर फिँज निकाली
उछलायी, उछलायी
जलनिधि सबैकन माथि उचाली
कण कण जलका चाली चाली
जुनमा तमकन धोयि पखाली
हलचल खुब मचायी
छाल छालको उछलपुछलमा
बक्षस्थलको हलचलमा
गंभीरताको गुँज्दछ गाना
अनहद गाना सुनायी।।
यो कविताले महाकवि देवकोटा पहिलादेखि नै प्रकृतिमा मोहित भएर लेख्नुहुन्थ्यो भन्ने आधार मलाई लाग्छ। मैले भाइहरु मधुसुदन र गोपीमाव देवकोटाका कविताहरु पनि सँगसँगै छापिएको देखेको छु।
महाकविको गरीब कविता पनि १९९१ सालक फाल्गुनको शारदा मासिकमा देखियो। त्यो कवितामा पनि कवि जनहृदयमा घुसी बस्न सफल हुनुभयो। त्यतिबेला यो पत्रिकाले राणाको एकतन्त्री शासनमा साहित्यकोमा माध्यमबाट विकास र विद्रोह गर्न मद्दत पुर्यायो। किनकी देवकोटाको ‘गरीब’ कविता शारदा पहिलो अंकमा ने प्रकाशित भएको हुँदा शारदाले उज्जवल अनुहार पहिलेदेखि नै देखाइन्। देवकोटाले पनि शारदालाई सुन्दरी बनाउन प्रशस्त कृतिहरु छपाउन दिइ ठूलो योगदान दिनुभयो।त्यतिबेला आफ्नो आर्थिक स्थिति पनि खासै मजबुत नहुँदा सायद देवकोटाले नेपालीको गरिबीलाई शब्दभावहरुले कवितामा उतारे जस्तो लाग्छ मलाई।
गरीब भन्छौ ? सुखको मझै धनी
मिल्दैन संसारभरी कतै पनि
विलासको लालस दास छैन म
मिठो छ मेरो रसिलो परिश्रम
प्रयासका पत्थरमा नदी सरी
बहन्छु हासी म तरङगले भरी
म पोखरी झै उही ठाउँ जम्दिन
छ शुद्ध यो जीवनको कण
निधार मेरो पसिना जडाउँछ
मोती तिनैको अनमोल भाउ छ
छ भोक मेरो रसिलो छ प्यास
छ अन्त्यमा व्यञ्जनको सुवास
छ थोर आवश्यकता पुगेपछि
म बस्छु संसार नयाँ नयाँ रची
जगत छ मेरो घरबार सुन्दर
आकाश निलो छ तले मनोहर
छन् रत्नसारा उसमा भराभर
छन् चन्द्रमा दीप तथा प्रभाकर
छ मख्मली घाँस बडो मुलायम
म लेट्छु जसमथि सकी परिश्रम
पंखा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सरसर।।
१९९२ सालमा कविको ‘गाइन् तिनले घसिया गीत’ शरद्चन्द्र कविता आएको देखिन्छ। १९९३ सालमा बुलबुलको गाना, सम्झना (१४ हरफे कविता), वृक्ष विश्वमन्दिर आदि देखिन्छन्। देवकोटा प्रकृतिको उज्वल अनुहार हेरेर साहित्यमा अघि बढ्नु भएको हो। प्रकृतिको अध्ययनमा उहाँ मस्त हुनुहुन्थ्यो। चन्द्रमा, फूल, हाँगा, रुख, वसन्त, ऋतुको मौसम, कोइली आदिलाई कवि खूब मन पराउनुहुन्थ्यो।
सुन्दरी जलको झरनाले कवि खूख मोहित हुनुहुन्थ्यो।वनकालीको बन र भण्डारखालको बगैँचामा पनि गएर प्रकृतिको अध्ययन गर्नुहुन्थ्यो । यही कारणले होला कविले आफ्नो चमत्कार गुण काव्यधारा मार्फत देखाउन थाल्नुभयो। उहाँ जे देख्नुहुन्थ्यो त्यही लेख्नुहुन्थ्यो। जस्तो सुन्दरी जलमा जाँदा उहाले सुन्दरी जलको झरनालाई यसरी कवितामा वर्णन गरिदिनुभयो।
पहाडको शिखरबाट
देखे झरेको जल
मेरो मनमा बत्ती बले
हजारौ झलमल
त्यो पानीको झरनामा
शक्ति कत्ति छ लुकेको
देख्न सके कति त्यसमा
बत्ती बिजुली बलेको
तर हाय त्यसै नै पग्ली
पानी व्यर्थ बहन्छ
तत्व हामी जान्दैनौ
भित्रभित्रै रहन्छ
के हामी मानिसका
हृदयका गिरीमा
छैनन यस्तै अटूट
निर्मल जलका झरना ?
हामीभित्र भए यदि यस्ता
सुन्दर झरना हजार !
हाय कस्तो छ अपशोच !
अझ छ अँध्यारो संसार !
उहाँले नेपालमा अथाह जल र जलभित्र लुकेको विजुलीले नेपाल झलमल हुन सक्छ भनेर त्यतिबेलै कवितामा भनिसक्नुभएको थियो। नेपाल कृषि प्रधान देश भएकाले देवकोटाले कृषकलाई आफ्नो जीवनसँग तुलना गर्दै काव्यभावमा प्रकट हुनु भयो यसरी।
वेदान्त उसका सब काम गर्नु
उसका विकास दिलमा सुख शान्ति भर्नु
लोभादिले न धमिलो उसको स्वभाव
गर्छिन् सधैं प्रकृतिले उसमा प्रभाव
कविका विलक्षण प्रतिभा देखेर उस बखतका सरकारिया मानिसहरु पनि छक्क पर्थे। यसै कविले ३७ वर्षको उमेरमा २००३ साल असार १२ गते नेपाली र अंग्रेजी पढाउन त्रिचन्द्र कलेजको प्रोफेसरमा नियुक्त हुनुभयो।यो थप नयाँ दरबन्दी थियो र त्यसको स्वीकृति साउन ३ गते भयो। प्रोफेसर भएपछि वार्षिक लगभग १२०० मा दर्शनभेट रकम कट्टा भइ कविको मासिक तलब रु. ९५ रुपियाँ ७३ पैसा पुग्यो। उस बखतमा साधारण कुलका मानिस त्यही पनि सिर्फ ग्र्याजुएटले त्रिचन्द्र कलेजमा नियुक्त हुन निक्कै महत्वपूर्ण मानिन्थ्यो।
महाकवि जागिरे हुँदा भाषा अनुवाद परिषद् र कलेज ठीक सयममा पुग्न जहिले पनि कठिन पर्द्थ्यो। भावमा डुब्दाडुब्दै १० को घण्टीले कविलाई केही पनि असर पर्दैनथ्यो। घरमा बज्यैले लुगा ठीक पारेर लगाइदिनुपर्दथ्यो। ‘१० बज्यो’ भनेर १० पटक भन्नु पर्दथ्यो। लुगा लगाइसकेपछि ढोकासम्म पनि बज्यैले पुर्याउनुपर्द्थ्यो। तैपनि कवि बज्यैको मुख ट्वाल्ल हेरेर ढोकामा उभिनुहुन्थ्यो। आखिरीमा ‘ल जानुस् बुबा हजूर, मैले ढोका बन्द गरे’ भनी ढोका बन्द गरेर घरभित्र पसेपछि कवि काममा जानुहुन्थ्यो।
एकतन्त्री शासनमा नेपाली साहित्य, कला संस्कृतिको कुण्ठित अवस्था देखेर विकासका लागि नेपाली साहित्य परिषद् संस्था खोल्न र साहित्य स्रोत मासिक पत्रिका प्रकाशन गर्न कविको इच्छा थियो। त्यतिबेला हृदयचन्द्र र केदारमान समेतको सहयोग लिएर देवकोटाले उक्त संस्थाको उद्देश्य र नियम खोली तत्कालीन प्रधानमन्त्री पद्म शमशेरकहाँ डारेक्टरमार्फत २००३ सालमा निवेदन पत्र पेश गर्नुभयो। त्यसबारे २००३ साल चैतमा तीनजनाको नाममा स्वीकृत भयो। २००४ साल जेष्ठ २ गते डाइरेक्टर मृगेन्द्रबाट यो संस्थाको उद्घाटन भयो। साहित्यस्रोत वि.सं. २००४ साल वैशाखदेखि निस्कन थाल्यो। यसको पहिलो अंकमा कविको ‘स्वप्नविश्लेषण’ लेख छापिएको थियो। कवि संस्थाको कार्यविभाजन हुँदा सम्मेलनको सभापति तोकिनुभएको थियो।
नेपाली साहित्य परिषद्ले २००४ साल जेष्ठ १५, १६ र १७ गते आयोजना गरेको सर्वप्रथम विराट सम्मेलन देवकोटाकै सभापतित्वमा भएको थियो।उहाँले सभापति पदबाट ज्याँदै विशद र आकर्षक धाराप्रवाह भाषण दिनुभएको थियो। त्यसमा देवकोटाका प्रतिभाको रस एक एक टप्किएको थियो।हुन त त्यसभन्दा अघिका कविका अनुपम कृतिहरु निस्के पनि कविशिरोमणि लेखनाथ पौड्यालले समेत देवकोटाको यथार्थ गुण चिनिसक्नु भएको थिएन। यस ओजस्वी भाषणलाई कवि शिरोमणीले समेत आफ्नै अगाडि राम्रोसँग सुन्दा देवकोटा साच्चिकै होनहार कवि रहेछन् भन्ने यथार्थसँग हृदयंगम गरे। यसमा देवकोटाको विराट ज्ञान र साहित्यिक प्रवाह देखेर सारा श्रोता चकित भएका थिए।
जीवनका अन्तिम वर्षहरुमा
दु:खमा दु:ख थपिएझैँ, देवकोटालाई १९५८ (बि सं २०१५) मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उहाँलाई आफ्नो मृत्यु आएको पक्का भयो। उहाँ रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले। एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उहा पञ्चतत्वमा विलीन हुनुभयो।
सान्त भवन अस्पतालमा रहँदा उहाँले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेख्नु भएको थियो- “मृत्यु मेरो अगाडि छ। म आकाशमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफूलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफू र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ।” जीवनभर, उहाँले भगवान् मान्नु भएन।
आर्यघाटमा उहाँले भन्नु भएको थियो, ‘मैले आफ्नो जिन्दगी हरिनाम नजपेर ,नास्तिक भएर बिताएछु ,अब जान आँटिहाले !’ जीवनकोअन्तिम क्षणमा पनि महाकविले शाश्वत आध्यात्मिक पक्षलाई आत्मसाथ गर्दै यसरी व्यक्त गर्नुभएको थियो….
संसार रूपी सुख स्वर्गभित्र,
रमें, रमाएँ लिई भित्र चित्र ।
सारा भयो त्यो मरूभूमि तुल्य,
रातै परेझै अब बुझ्छु बल्ल ॥१॥
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥
महामरूमा कणझैं म तातो,
जलेर मर्दो बिनु आश लाटो ।
सुकी रहेको तरूझैं छु खाली,
चिताग्नि तापी जल डाम्न फाली ॥३॥
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ ।
जन्मे म यो स्वर्ग विषे पलाएँ,
आखिर मै खाक त्यसै बिलाएँ ॥४॥
(महाकवि देवकोटाका छिमेकी नित्यराज पाण्डेसँग देश सञ्चारका वरिष्ठ उप-सम्पादक सहदेव चौधरीले गरेको कुराकानीमा आधारित)