
काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत प्रा. डा गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बारको बैठकपछि शुक्रबार महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा केसीले जनआस्था घटाउने काम गरेको उल्लेख छ।
आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुञ्जेल आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिने मात्र नभई गलत प्रक्रिया र पद्धतिको विकास हुनेतर्फ बारले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ।
त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषदमा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषदले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा. केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ।
सबै प्रकारको दबाब र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने उल्लेख गरेको छ। साथै, यस्ता कामको समर्थन गर्दै अगाडि बढ्ने हो भने गलत परिपाटीको विकास हुने हुँदा बारले डा केसीलाई यस्ता खालका माग राखेर आमरण अनशन नबस्न आग्रह गरेको छ। (रासस)