
जुम्ला- तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन्।
डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो। आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ।
हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ। सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए।
औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ। उनले भने, ‘न्यूनतम शुल्कमा पायल्स, घाउ, खटिराको शल्यक्रिया गर्ने गरेका थियौँ। अहिले डा नभएपछि त्यो काम हुन सकेको छैन।” आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताए।
वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ। “त्यसैले चिकित्सक पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ। चिकित्सक आउनु भए सहज हुन्थ्यो”, उनले भने।
हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत् छन्।एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना चिकित्सकको पद मात्रै रिक्त छ।
औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन्। समयमा औषधि आउँदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ।धेरैजसो कमलपित्त, श्वासप्रश्वास, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकार, छालासम्बन्धी बिरामी उपचारका लागि आउने गर्दछन्।
कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ। जिल्लाका सातवटै गाउँपालिका र डोल्पा मुगु, कालिकोटसम्मका बिरामी यहाँ आउने गर्छन्।