पोखरा- लोप हुन लागेका नेपाली लोक भजनको संरक्षणको उद्देश्यका साथ प्रथम खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता फागुन १२ गते पोखरामा हुने भएको छ।
कार्यक्रम संयोजक तुलसी प्रवासले आधुनिकताको चपेटामा लोक भजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए।
खैंजडी, मुजुरा, मृदङ्ग, मादल जस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ। दर्ता भएका समूहलाई माघ महिनाभरी जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरा प्रदर्शनी केन्द्रमा प्रतिष्पर्धा गराइने छ। पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित प्रमाणपत्र तथा अन्य पाँच उत्कृष्ट समूहलाई तीन हजारसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिए।