
झापा- नेपाली लोक रक ब्याण्ड नेपथ्यले सांगीतिक यात्रा पूर्वी नेपालको दमकबाट सुरुवात गरेको छ। कन्सर्ट हेर्न आएका स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयको प्राङगणमा नेपथ्यले शुक्रबार सबैलाई नचाएको थियो।
कन्सर्ट हेर्न सहर र गाउँबाट करीब पाँच हजार दर्शकको उपस्थिति रहेको थियो। दमकबाटै जितेका एमालेका अध्यक्ष केपी ओलीलाई नेपथ्यका गायक अमृत गुरुङ भावी प्रधानमन्त्रीले अबको नेपाललाई स्थिर सरकार दिएर समुन्नतीतर्फ लैजाने शुभकामना समेत दिन भ्याएका थिए।
शुभकामनापछि गुरुङले लोक–रक गीत गाउँदै गर्दा चिसो नमानी खुल्ला आकाशमुनि दर्शकहरु झुम्मिरहेका थिए।
कन्सर्टको सुरुमै नेपथ्यका दुइवटा चर्चित म्यूजिक भिडियोहरु ‘सा कर्णाली’ र ‘सम्झिराख’देखाएर गरिएको थियो। छिमेककै पहाडी सहर धनकुटाबाट उदाएर मुलुककै प्रसिद्ध कवि बन्नपुगेका प्राध्यापक तुलसी दिवसले वाल्यकालमै यसै भेगमा सिर्जनागरेको गीत हो ‘सम्झीराख’। यस गीतलाई कन्सर्टको बेलामा दमकमै पहिलोपटक प्रस्तुत गरिएको हो।
म्यूजिक भिडियोको लगत्तै मञ्चमा प्रवेश गरेको नेपथ्य टोलीले त्यसपछि सरुभक्त रचित ‘कुरुप अनुहार हो’, ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ गाएर सबैलाई लठ्ठै बनाएका थिए भने हुँदै ‘आँगनैभरि’गाउने बेलामा गायक अमृत गुरुङले ब्याण्ड स्थापनाको बेलाका सम्झनाहरु सुनाएका थिए।।
यतिबेला आफ्नो स्थापनाको २५ औं वर्ष मनाइरहेको ब्याण्डले उसको त्यो पहिलो गीत सुनाउने बेला पृष्ठभूमिमा स्थापनाकालीन सदस्यहरुका सम्झनारुपी तस्बिर देखाइएको थियो। अमृतले क्रमशः ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’ हुँदै फेरि नेपथ्यको पछिल्लो एल्बम ‘ऐनाझ्याल’ मा समेटिएको चर्चित गीत ‘जोगले हुन्छ भेट’ सुनाएका थिए ।
कार्यक्रममा ‘तिमी पनि नेपाली’, ‘यो जीन्दगानी’, ‘कोशीको पानी’, ‘हिमाल चुचुरे’, ‘मै नाचे छमछमी’ हुँदै दर्शकहरुले सुरुदेखि माँग गर्दैआएको ‘रेशम’ र ‘तालको पानी’ सुनाइएको थियो।
गीत गाउनुका साथै समसामयिक विषयवस्तुमा अभिमत पनि सुनाउने गायक अमृत गुरुङले कार्यक्रममै चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बस्दै आएका डा. गोविन्द केसीको पक्षमा सबैतिरबाट जनमत प्रकट गर्ने यो नै सबैभन्दा महत्वपूर्ण क्षण रहेको उल्लेख गरेका थिए।
त्यतिबेला दर्शकले दिएको विशाल समर्थनलाई आफूले दमकबाट केसीको अनशनका पक्षमा पाएको अनुमोदनका रुपमा लिएको अमृतले सुनाएका थिए । मुलुकको यात्रामा निस्केको नेपथ्य टोली अब माघे संक्रान्तिका दिन चितवनस्थित नारायणी नदीको किनारमा प्रस्तुत हुनेछ।