
मेरो कानून अध्ययन, कानून व्यवसायीकै रूपमा रहने निर्णय र कुसुम श्रेष्ठसँगको भेट सबै संयोगात्मक घटनाहरू हुन्। मैले जानेबुझेसम्म संयोगात्मक कुराहरू नै बढी प्रिय हुन्छन् र उहाँसँगको भेट पनि त्यस्तै प्रिय छ। नदेखे पनि उहाँको नाम मैले ठूलो दाइबाट २०३७ सालतिरै सुनेको हुँ।२०३६ सालको आन्दोलनताका दोलखा जिल्लाका जिरी र लादुक स्कूलका प्रधान अध्यापकहरू क्रमशः इन्द्रबहादुर खड्का र जीतवीर लामा (पछि दुवैजना सांसद् पनि हुनुभयो) लाई पक्रेपछि उहाँहरूलाई छुटाउन कानूनी उपचार खोज्न काठमाडौं आएको बेला भएको भेटको प्रभावका आधारमा दाइले उहाँको प्रशंसा गर्नु हुन्थ्यो।
देखभेटचाहिँ म कानून व्यवसायमा प्रवेश गरेपछि भएको हो। उहाँको र कृष्णप्रसाद पन्तको बहस भ्याएसम्म सुन्न बस्थेँ। तर त्यो भेट उही ‘राजालाई सबैले चिन्छन्’ भनेजस्तै थियो। म नमस्कार गर्थेँ। उहाँ नमस्कार फर्काउनु हुन्थ्यो। नमस्कार गर्यो, बहस सुन्यो।वश त्यत्ति नै।
…..
२०५८ साल साउन ३२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले जग्गाका सम्पूर्ण कारोबार रोक्का गरेर उपद्र्याइँ काम गरे। त्यसले अंश बण्डा, धितो बन्धक नामसारीसम्म पनि गर्न नपाइने भयो। कानून परिवर्तन नै नगरी प्रधानमन्त्रीको सनकको भरमा त्यस्तो गैरकानूनी कार्य भएकाले त्यसको विरूद्धमा भोलिपल्टै मैले मुद्दा हालेँ। मेरैजस्ता मुद्दाहरू अरू ६ वटा परे र सबैमा एकैखालका माग भएकोले सबै मुद्दा एकैसाथ राखेर सुनुवाइ भए। तिनै मुद्दामध्ये एक मुद्दामा उहाँ पनि बहस गर्न आउनु भएको थियो।
ती मुद्दाहरूमध्ये मेरो मुद्दा पहिलो भएकाले पहिला बहस गर्ने पालो मेरै थियो। मेरो मुद्दामा म आफैँले बहस गरेँ र उहाँले अर्को मुद्दामा बहस गर्नुभयो।बहस भइसकेपछि कुसुम श्रेष्ठले‘माधबजी तल एकछिन भेटौं है’ भन्नुभयो।सँगै झर्यौं। उहाँले मलाई उत्प्रेरणा दिने धेरै कुराहरू गर्दै ‘अनामनगरमा मेरो अफिस छ। पर्सिका दिन मेरो अफिसमा आउनुस् है, ३:०० बजे’ भन्नुभयो। किन भनेर उहाँले पनि भन्नु भएन। मैले पनि सोधिन। थप उत्प्रेरणा दिनको लागि हो भन्ने प्रष्टै थियो।
भनेकै समयमा उहाँकोमा पुगेँ। म जाँदा उहाँ नीलो तौलिया भुइँमा ओछ्याएर त्यसैमा सुतेर लर्ड म्याकनायरको ‘द ल अफ ट्रिटिज’ पढ्दै हुनुहुन्थ्यो। मलाई कुर्सीमा बस्न भन्नुभयो। मैले ‘सर भुइँमा बस्ने म कुर्सीमा हुँदैन’ भनेर मानिन र भुइँमै बस्ने खोजेँ। ‘मेरो ढाड दुख्छ। त्यसैले ‘प्लेन ग्राउण्ड’मा सुतेर पढ्छु’ भन्दै उठेर कुर्सीमा बस्नुभयो र कुरा शुरू गर्दै ‘तपाईँलाई गणेशराज शर्माले पनि राम्रोसँग चिन्दो रहेछ हगि ?’ भनेर सोध्नुभयो। मैले ‘हो, मलाई धेरै प्रोत्साहन गरिरहनु हुन्छ’ भनेँ।‘हिजो पालुबारीमा तपाईँको विषयमा हाम्रो कुरा भएको थियो । मैले नयाँ केटो राम्रो रहेछ भनेर कुरा निकालेँ। उसले (गणेशराज) तपाईँको विषयमा धेरै कुरा गर्यो। ल राम्रो छ। तपाईँलाई उचाल्न हामीले सहयोग गर्नुपर्छ भनेका छौं’ भन्नुभयो। मैले जवाफ दिने कुरा केही थिएन। ‘हजुर हजुर’ मात्रै भनें।
त्यसपछि आफूले पढिरहेको पुस्तक देखाउँदै ‘यो किताब राम्रो छ । मेरो एउटा ‘ब्रिटिस क्लाइन्ट’ले ल्याइदिएको। तपाईँ पनि पढ्नुहोला’ भन्नुभयो। ‘ब्रिटिश काउन्सिलबाट ल्याएर फोटोकपी गरेको छु। अलि पूरानो ‘इडिशन’ रहेछ। त्यसैले एन्थोनी अष्टको मर्डन ट्रिटी ल एण्ड प्राक्टिस’ किनेको छु’ भनेँ। उहाँले ‘ए, त्यो नयाँ हो? अब म धेरै ‘प्राक्टिस’ गर्न सक्दिन। किन किन्नु। तपाईँ फोटोकपी दिनुस है। अपडेट भएर बसिराख्नु पर्छ’ भन्नुभयो। मैले हुन्छ भनेँ।
त्यसपछि अनूपलाई (हाल राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख आयुक्त) तपाईँले चिनेको छ? भनेर सोध्नुभयो। चिनेको छु भनेँ। ‘म उसलाई भनिदिन्छु। तपाईँ ल सोसाइटीमा गएर सदस्यताको लागि निवेदन दिनूस्।म पनि भनिदिन्छु। मैले पठाएको भन्नूस्। ल सोसाइटीको सदस्य हुनुपर्छ’ भन्नुभयो। मैले हवस् भनेँ। यति कुरा हुँदा झण्डै ३५ मिनट बितिसकेको थियो। शायद उहाँले मलाई बिदा दिने मनसायले होला ‘चिया खानु हुन्छ ?’ भन्नुभयो। मैले ‘खान्न सर, बरू जान्छु’ भने।अन्त्यमा ‘तपाईँ अहिलेकै रफ्तारलाई निरन्तरता दिनूस है’ भनेर बिदा दिनुभयो।
मलाई पेशामा अडिन प्रोत्साहन दिनेमा गणेशराज शर्मा, मोतीकाजी स्थापितसँगै चौथो मान्छे पनि थपिएको थियो। त्यसैले उहाँकोबाट फर्किँदा मेरो नाक गर्वले फुलेर शायद ‘टिप्न बिर्सेको घिरौंला जत्रो’ भएको थियो। प्रोत्साहन दिनेको कमी हुँदो रहेनछ भन्ने सम्झँदै फर्केँ।
त्यसपछि उहाँको इच्छाअनुसार मसँग भएको पुस्तकको फोटोकपी गरेर चौथो दिन पुर्याइदिएँ। त्यो दिन उहाँ सेवाग्राहीसँग हुनुहुन्थ्यो। त्यसैले उहाँलाई नभेटी पुस्तकको फोटोकपी सहयोगीलाई छोडेर फर्किएँ र त्यही दिन नै ल सोसाइटीको सदस्यताको लागि निवेदन दिएँ। अलिपछि सदस्यता पनि पाएँ।२०४७ सालताका ल सोसाइटीले निकाल्ने ‘संविधानसम्बन्धी लेखहरूको सङ्गालो’नबिराई पढ्थेँ। त्यसैले ल सोसाइटी त्यस्तै होला भन्ने थियो। दुई चारचोटी त्यसका कार्यक्रमहरूमा भाग पनि लिएँ। तर उहाँ आउनु हुन्नथ्यो र मैले सोचेको भन्दा ल सोसाइटी फरक थियो। त्यसपछि ल सोसाइटी जान पनि छोडिदिएँ।
…..
कुसुमहरूको ‘मर्मत’ र पेशाको निरन्तरताः
म कानून व्यवसायलाई बकवेदान्ती पेशा ठान्दिन। कानून व्यवसायलाई अध्ययन, अनुशासन र निष्ठाको त्रिवेणी मान्छु। एउटा फैसलाको कारणले एक पटक मैले पेशा परित्याग गर्ने निर्णय लिएँ। त्यस निर्णयबाट पेशामा मलाई गणेशराज शर्मा, मोतीकाजी स्थापित र कुसुम श्रेष्ठले नै फर्काउनु भएको हो।त्यो कुरा मैले उहाँहरू प्रति श्रद्धाञ्जलीको लागि पनि सार्वजनिक गर्नुपर्छ।त्यो घटना यस्तो थियो-
राजेश राजकर्णिकार, शिक्षाले चार्टर अकाउण्टेण्ट, पेशाले कर्मचारी सञ्चय कोषका दशौं तहका कर्मचारी। उनी एक पटक कर्मचारी सञ्चय कोषको प्रशासक पनि भएका रहेछन्। त्यसपछि उनीलाई हटाएर शशिविक्रम राणालाई प्रशासकमा नियुक्त गरिएछ र उनले शशिविक्रम राणाको विरूद्धमा मुद्दा गरेछन्। मुद्दाको परिणाम शशिविक्रमको पक्षमा गएछ।
कर्मचारी सञ्चय कोषका कर्मचारीहरूले निवृत्तभरण २० वर्ष सेवावधि पुगेपछि पाउने व्यवस्था थियो।उनी २०५२ पुस ८ गते दशौं तहबाट सेवा प्रवेश गरेका थिए। कर्मचारी सञ्चय कोषको नियमावली पाँचौं पटक संशोधन हुनुअघिसम्म उनले निवृत्तभरण पाउने निश्चित थियो। तर २०६१ साउन १३ गते नियम संशोधन गरेर दशौं तहमा १० वर्ष अवधि पुगेमा, एघारौं तहमा ७ वर्ष पुगेमा स्वतः अवकाश पाउने व्यवस्था ल्याइयो। त्यसरी अवकाश दिँदा २० वर्ष अवधि नपुगी निवृत्तभरण नपाउँने भए ७ वर्ष अवधि थप गरेर निवृत्तभरण दिने र त्यति गर्दा पनि निवृत्तभरण नपाउँने भए एक मुष्ट २ वर्षको पारिश्रमिक दिएर अवकाश दिइने व्यवस्था ल्याइयो। त्यसको एक्लो शिकार उनीमात्रै हुनेथिए। किनभने उनी दशौं तहबाट सेवा प्रवेश गरेकाले त्यो पदमा उनको १० वर्षको सेवावधि २०६२ साल पुस ८ गते पुग्थ्यो। एघारौं तहको एउटामात्र पद थियो र त्यसमा डा. रमेश अधिकारी भरखरै बढुवा हुनुभएकाले बढुवाको सम्भावना पनि थिएन। ७ वर्षको अवधि थप गरिदिँदा पनि उनको सेवावधि १७ वर्षमात्र हुन्थ्यो। निवृत्तरभरण पाउन अझै ३ वर्ष पुग्दैनथ्यो। यस्तैयस्तै कानूनी अक्करहरूले उनलाई निवृत्तभरणको सट्टा एक मुष्ट २ वर्षको तलबभत्ता लिएरसेवा छोड्नुपर्ने अवस्था थियो। उमेरको कारणले अर्को सेवामा प्रवेश गर्ने अवस्था पनि थिएन।
उनी त्यसको विरूद्धमा उपचार खोज्न वरिष्ठ अधिवक्ता मोतीकाजी स्थापितकोमा पुगेछन्। मोतीकाजी दाइ त्यसबेला मखनको घरमा बस्नु हुन्थ्यो। मलाई उहाँले घरमा बोलाउनु भयो। म गएपछि राजकर्णिकारसँग परिचय गराउँदै ‘ल उहाँ भएपछि म जानु पर्दैन। विनय (मोतीकाजी स्थापितको छोरा हाल वरिष्ठ अधिवक्ता) ले पनि सहयोग गर्छ’भन्दै मलाई यो मुद्दा तपाईँले हेरिदिनु पर्यो भन्नुभयो। मैले मुद्दाको मूल कानून व्यवसायीको रूपमा भूमिका निर्वाह गरेँ।
मुद्दा अन्तिम सुनुवाइ अनूपराज शर्मा, खिलराज रेग्मी र बलराम केसीको इजलासमा पर्यो। बोलिचालीको भाषामा सबै न्यायाधीश ‘घाघडान’र सैद्धान्तिक दृष्टिबाट पनि बलियो भएकाले म मुद्दाको परिणाम निकै आशावादी थिएँ।मुद्दाको बहस भयो। विपक्ष रहनुभएका शशिविक्रम राणा र डा. रमेश अधिकारी दुवै इजलासमै हुनुहुन्थ्यो। चिया समयमा उहाँहरूले ‘तपाईँको बहस सुन्यौं। अब मुद्दा परे हाम्रो वकिल तपाईँ निश्चित’ भन्दै चिया खुवाउनु भयो। म विपक्षीबाट पनि प्रशंसित, मुद्दा पनि बलियो र न्यायाधीशहरू पनि संवैधानिक, प्रशासनिक कानून र मौलिक अधिकार पनि बुझेका छन् भन्ने विश्वासमा परेकोले म खुसी थिएँ।
तर फैसला आउँदा रिट खारेज! मुद्दा हारियो! मेरो सोचमा एक धक्का लागेको भए पनि चोट नै लागेको महशुस गरेको थिइन। अवधारणागत रूपमा तीनै जना न्यायाधीशहरू प्रष्ट छन्। त्यसैले मैले नजानेका कुनै कुराको कारणमा मुद्दा हारियो होला भनेको त जब फैसला पूर्णपाठ आयो त्यसपछि न्यायाधीशहरूमाथिको विश्वास पनि उड्यो। पेशाप्रतिको मोह पनि भङ्ग भयो।
फैसलामा एउटा संस्थाले बनाएको नियमलाई चुनौती दिइएकोमा नियम र ऐनको बीचमा भिन्नता पनि खुट्याउन नसकी ऐन खारेज नगरेका विदेशी नजीर ल्याएर लगाइएको थियो। अधिकांश मौलिक अधिकारहरूको प्रकृति व्यक्तिगत (इन्डिभिजुअल) हुन्छन्, सामूहिकता हुँदैन। तर सबैलाई समानरूपमा लागू हुने भएकाले ठीक छ भनिएको थियो। (यो नेपाल कानून पत्रिकामा पनि प्रकाशित छ- २०६३ अङ्क १ पृ. निर्णय नं. ७६३६)।
त्यसैले पेशालाई निरन्तरता नदिनेमा पुगेँ। नयाँ मुद्दाहरू लिन छोडिदिएँ र अघि नै लिएका मुद्दाहरूमात्र सिध्याएर पेशालाई पूर्ण बिराम लगाउने निधो गरी बसेँ। पेशा छोड्दैछु भनेर हल्ला गर्दै हिँड्ने कुरा पनि भएन। त्यसैले प्रसङ्ग आएमा भन्ने नभए कसैलाई नभनी बसेको थिएँ।
यसैबीचमा डा. प्रेमसिंह बस्न्यात शायद त्यसबेला उहाँ मेजर वा जनरलमध्ये एक हुनुहुन्थ्यो, उहाँलाई सेनाले विद्यावारिधि गरेर पाएको उपाधि ‘डा.’पनि मेडिकल डाक्टरसँग जुध्छ भनेर लेख्न दिएनछ।त्यसैले उहाँले ‘डा.’लेख्नुको सट्टा ‘पिएचडी’ लेख्नु हुन्थ्यो। उहाँले लेख्नुभएको पुस्तक पनि बिक्री गर्न नदिई असबाब खानामा लगेर थन्क्याइदिएछ। साह्रै अन्यायमा परेको महसुस भएपछि उहाँले कानूनी उपचार खोज्ने उद्देश्यले गणेशराज शर्माकोमा पुग्नुभएछ। गणेशराज शर्माले ‘म पनि बहस गरूँला, लेख्नचाहिँ माधब बस्नेत भन्ने ठिटो वकिल छन्, उहाँकहा जानूस्’ भनेर पठाउनु भएछ। डा. प्रेमसिंह बस्न्यात आएर मलाई ती कुरा भन्नुभयो। मैले आफूले पेशा नै छोड्न लागेकाले ६/७ महिनादेखि मुद्दा नलिने भनेर उहाँलाई फर्काएँ।
डा. बस्न्यात त्यही कुरा लिएर पुनः गणेशराज शर्माकोमा पुग्नुभएछ (पछि त्यो मुद्दा कसले गर्यो मलाई थाहा भएन)।त्यसपछि मेरो मैले पेशा छोड्न लागेको कुरा मेरो उत्प्रेरक समूहमा पुग्यो।
त्यसपछि पहिला गणेशराज शर्माले बोलाउनु भयो। शुक्रबारको दिन थियो। पालुबारीमा घर हुनेहरूत्यसबेला शुक्रबार पालुबारीको घरमा गएर शनिबार बसी आइतबार फर्कने गर्नुहुन्थ्यो।तर त्यो दिन किन हो कुन्नि जानुभएको रहेनछ। मलाई शुक्रबार नै बोलाउनु भयो।
म पुग्दा त्यहाँ बद्रीबहादुर कार्की, पत्रकार केशव पौडेल (हाल सम्पादक न्यु स्पटलाइट) र गणेशराज शर्मा आलु र चिउरा खाँदै खै के विषयमा कुरा गरिरहनु भएको थियो, मलाई थाहा भएन। जब म पुगेँ, त्यसपछि शर्माले मलाई पनि आलु र चिउरा मगाउनु भयो। उहाँहरूको कुरालाई त्यत्तिकै छाडेर आलु र चिउरा आउन्जेल शर्माले मलाई मीठो भाषामा सबैका अगाडि राम्रै ‘मर्मत’ गर्नुभयो। बद्री सर र केशव दाइ केही नबोली मुस्कुराएर बस्नु भयो। आलु चिउरा आउनुभन्दा अघि नै ‘मर्मत’ भइसकेको थिएँ। त्यसैले आलु, चिउरा र मठा आएपछि खाएर ‘विचार गर्छु सर’ भनेर हिँडें।
त्यो कुरा पालुबारीमा पनि भएछ। त्यसपछि कुसुम श्रेष्ठ र मोतीकाजी दाइसम्म पनि पुग्यो। मोतीकाजी दाइले घरमै बोलाएर मलाई पेशा नछोड्नको लागि सम्झाइसक्नु भएको थियो। बाँकी कुसुम श्रेष्ठको पालो थियो। उहाँले सर्वोच्च अदालतमा भेटेर ‘एकचोटी मेरो अफिसमा भोलि ४ बजे आउनुस् है’ भन्नुभयो। उहाँले पनि कारण भन्नुभएन। के को लागि भन्ने मैले अनुमान लगाइसकेको थिएँ। त्यसैले किन भनेर सोधिन। भोलिपल्ट उहाँको अफिस गएँ। उहाँको बसाइ उही थियो- भुइँमा तौलिया ओछ्याएर उत्तानो परेर सुतेर पढिरहने।
उहाँ प्रथम पुस्ताको, म धेरै पछिल्लो पुस्ताको कानून व्यवसायी। त्यसैले मैले थाहा पाउने उहाँले प्रतिनिधित्व गरेका फैसलाहरू, उहाँ तथा उहाँका समकालीनले भनेका कुराहरूबाट थाहा पाउने हो। तर उहाँका कर्मको आधारमा मैले उहाँलाई मूल्याङ्कन गर्दा दक्षिण अफ्रिकाका ब्राम फिश्चर (जसले नेलसन मण्डेला विरुद्ध चलाइएको मुद्दा, जुन रिभोनिया ट्रायलको नामले चर्चित छ, मा नेलसन मण्डेलाको प्रतिनिधित्व गरेका थिए) र अमेरिकाका क्ल्यारेन्स सिवार्ड ड्यारो, विलियम मोसेज कुन्ट्स्लरकै स्तरमा राखेर मूल्याङ्कन गर्छु।
म पुगेपछि शुरूमै ‘तपाईँले २३ सालको मेरो अपहेलनाको मुद्दाको फैसला पढ्नु भएको छ?’ भनेर सोध्नुभयो।पढेको छु भनेँ। ‘के छ भन्नूस् त’ भन्नु भयो। ‘तपाईँलाई ५००। रुप्याँ जरिवाना गरिएको छ’ भनेँ। ‘हेर्नूस् त,मैले अपहेलना हुने केही नगर्दा त उबेलामा मलाई त्यत्रो जरिवाना ठोके बहुलाहरूले। त्यतिबेला त्यति पैसाले पुतली सडकमा १ रोपनी जग्गा आउँथ्यो! र त, मैले पेशा छोडिन। तपाईँले किन छोड्ने?’
मैले सबै वृतान्त बताएँ। उहाँले पनि अलिअलि सम्झाउने अलिअलि ‘मर्मत’ दुवै गर्नुभयो र अन्तिममा ‘वकिल भएपछि रगतको आँसु पिएर भए पनि पेशालाई निरन्तरता दिनुपर्छ।तपाईँलाई केही सहयोग चाहिए मलाई भन्नुहोला। त्यस्तो त भइरहन्छ। पेशा छोड्नु हुँदैन’भन्दै के सोच्नु भयो कुन्नि ‘मेरो घर लाजिम्पाटमा छ’ भन्दै घरको पनि फोन नम्बर दिनुभयो।
गणेशराज र मोतीकाजीले सम्झाएपछि म आफ्नो अडानबाट धर्मराइसकेको थिएँ र पनि उहाँहरूलाई निरन्तरता दिन्छुचाहिँ भनेको थिइनँ। तर जब कुसुमले पनि भनेपछि मैले त्यही बखतमा उहाँलाई निर्णय सुनाएँ- अब म पेशा छोड्दिन। बिग्रे तपाईँहरूलाई दोष दिन्न। सप्रेछु भने त्यसको ‘क्रेडिट’ सधैँ तपाईँहरू तीन जनाले पाउनु हुन्छ‘ भनेर विश्वास दिलाएर निस्केँ। पछि यही कुरा गणेशराज र मोतीकाजी दाइलाई पनि भनेँ।उहाँहरूकै कारणले म आजसम्म पेशामा छु।
…..
कुसुम श्रेष्ठले बार एसोसिएसन, कानूनी सहायताको लागि दिएको योगदान तथा पञ्चायत विरोधीहरूको मुद्दाको सम्बन्धमा दिएको योगदानको सम्बन्धमा धेरैले लेखिसक्नु भएको छ। तर उहाँको विषयमा एक जना बेलायती कानून व्यवासयी लेखेको कुरा यहाँ उद्धृत गर्नु उचित लागेको छ।
धेरैलाई थाहा नहुन सक्छ- सन् १९६५/६६ ताका नेभिल्ले स्यारोनी नामक बेलायती वकिल नेपाल आएर ल फर्म खोल्न खोजेछन्।नेपालका सबै कानूनहरू नेपाली भाषामा भएकोले नेपालमा फर्म खोल्न नेपालीको पनि आवश्यकता पर्यो। त्यसैले उनले मधु शर्माहरूसँग सम्पर्क पनि गरेछन्।तर उनीहरूसँग मन नलागेर (उनले दिएको कारण नकरात्मक भएको मैले यहाँ उल्लेख गरेको छैन।) राजखान्दानसँग सम्पर्कमा रहेका उनले कुसुम श्रेष्ठसँग संलग्न हुन नसकेको विषयमा उनले यस्तो लेखेका छन्- ‘I would have felt privileged to associate with Kushum Shrestha, the fearless Newari but I knew that his libertarian image would not sit well with the commercial clients that I had in mind. [Naville Sarony, Counsel In The Clouds: A personal odyssey; Sweet and Maxwell, 2014 at page 124].
उहाँ प्रथम पुस्ताको, म धेरै पछिल्लो पुस्ताको कानून व्यवसायी। त्यसैले मैले थाहा पाउने उहाँले प्रतिनिधित्व गरेका फैसलाहरू, उहाँ तथा उहाँका समकालीनले भनेका कुराहरूबाट थाहा पाउने हो। तर उहाँका कर्मको आधारमा मैले उहाँलाई मूल्याङ्कन गर्दा दक्षिण अफ्रिकाका ब्राम फिश्चर (जसले नेलसन मण्डेला विरुद्ध चलाइएको मुद्दा, जुन रिभोनिया ट्रायलको नामले चर्चित छ, मा नेलसन मण्डेलाको प्रतिनिधित्व गरेका थिए) र अमेरिकाका क्ल्यारेन्स सिवार्ड ड्यारो, विलियम मोसेज कुन्ट्स्लरकै स्तरमा राखेर मूल्याङ्कन गर्छु।
…..
माया मोह, करुणा, अपेक्षा, आदर आदिलाई पन्छाउँदा मृत्यु स्वभाविक प्राकृतिक घटना हो। बनाएको चीज बिग्रिन्छ। जन्मेको प्राणी मर्छ। को कहिले मर्छ भन्ने निश्चित हुँदैन। जब मर्छ त्यसपछि ‘यसको दिन यत्ति नै रहेछ’ भन्ने थाहा हुन्छ। त्यसैले मृत्यु सामयिक हो। तर मृतकप्रतिको माया, दया, अपेक्षा आदिको कारणले मृत्युलाई असामयिक बनाइदिन्छ। त्यस्तै असामयिक निधन वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको भयो। उही दिन थाहा पाएको भए पनि म काठमाडौं बाहिर रहेकाले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन पाइनँ। मलाई विभिन्न उत्प्रेरणाहरू दिँदै पेशामा फर्काउने मध्येको एकलाई श्रद्धाञ्जली दिन पनि उपस्थित हुन पाइनँ। त्यही अमीट मनखत रह्यो।
मानव जीवन संसृत होइन। त्यसैले जे गर्ने यही जीवनमा गर्नुपर्ने हुन्छ। यही यथार्थलाई उहाँले पूरा गरेर जानु भयो। उहाँप्रति जनाइएको र जनाइराखिएको सम्मानको पूर्णकलशमाथि माथि मेरो पनि एक थुङ्गो! इहलोक जस्तै परलोक पनि सार्थकता रहोस्! सम्मान रहोस्! मेरो शब्द-श्रद्धाञ्जलि!