
जनकपुर— सीताराम विवाह पञ्चमीको अवसरमा आयोजना हुन लागेको महामहोत्सवमा जन्ती लिएर भारतस्थित उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने निश्चित भएपछि धार्मिक र सांस्कृतिक पक्षमा उसत्साहसँगै राजनीति अड्कलबाजी पनि बढ्न थालेका छन्।
मंसिर २१ देखि २७ गतेसम्म चल्ने महामहोत्सवमा जन्तीसहित योगी आदित्यनाथ आउँदैछन्। र, त्यहाँ प्रमुख अतिथिको भूमिका उनले निर्वाह गर्ने निश्चित भएको छ।
केही समयअघि उक्त महामहोत्सवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित हुने अड्कलबाजीलाई समाप्त गर्दै भारतको सत्ताधारी पार्टी (भारतीय जनता पार्टी ) नेतृत्वले मोदीभन्दा यो अवसरका लागि अदित्यनाथ बढी उपयुक्त हुने विश्लेषण गरेपछि उनी नेपाल आउन लागेका हुन्।
उनको आगमनलाई लिएर महामहोत्सव आयोजक उत्साहित बनेका छन्। ‘आदित्यनाथको उपस्थितिले हामी निकै उत्साहित छौँ र उहाँको स्वागतका लागि तयारी पनि तिव्र पारेका छौँ,’ सीताराम विवाह पञ्चमी महामहोेत्सव मूल समारोह समिति जानकी मन्दिरका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास श्रीवैष्णवले देशसञ्चारसँग भने।
आदित्यनाथको आगमनले जनकपुरबासी पनि उतिकै हर्षित छन्। तर यो उत्साह महामहोत्सव थलो जनकपुरमा मात्रै सीमित छैन।
योगी आदित्यनाथ गोरखपुरस्थित गोरक्षनाथ मठका प्रमुख हुन्। गोरक्षनाथको अध्यात्म भूमिसँगै उनीद्धारा दीक्षित पृथ्वीनाराण शाह र उनको वंशले उनलाई कुल गुरु मान्दै आएको छ।
नेपालमा राजसंस्था रहदसम्म सिक्क (मुद्रा)मा एकापट्टी श्री गोरक्षनाथ र अर्कोपट्टी शक्ति स्वरुपा श्री भवानी लेखिने चलन थियो।
२०६२/६३ सालको परिवर्तनपछि पनि अदित्यनाथले नेपालको हिन्दु राष्ट्र र हिन्दु अधिराज्यको हैसियतको निरन्तरताको वकालत गर्दै आएका छन्।
र, भारत नेपालमा आमूल परिवर्तनकारी एजेण्डाको पक्षधर त्यसबेलाको भारतीय संस्थापन पक्षले आदित्यनाथलाई निजी सेना (भिजिलेन्ते) को प्रयोगद्धारा माओवादीलाई समाप्त गर्न लागि परेको आरोप लगाएको थियो।
नेपालबारे योगी आदित्यनाथको धारणा परिवर्तन भएको छैन। तिनै योगी आदित्यनाथ मुख्यमन्त्रीको हैसियतमा विवाह महामहोत्सवमा जनकपुरमा आउँदै छन् भारतको आम चुनाव आउन पाँच मात्रै बाँकी रहँदा। यो समयमा उनी नेपाल आउनुलाई दुवैतर्फ राजनीतिक महत्वका साथ हेरिनु असामान्य होइन।
आखिर अन्तिम समयमा मोदीको सट्ट किन योगी आदित्यनाथलाई पठाइयो? नेपालको राजनीतिक परिवर्तनपछि योगी आदित्यनाथको नेपालमा यो तेस्रो भ्रमण हुने छ। केही वर्ष अघि कपिलवस्तुस्थित महादेव मन्दिर उद्घाटनमा उपस्थित भएका थिए। त्यसपछि २ वर्षअघि उनी काठमाडौँमा आयोजित विश्व हिन्दु सम्मेलनमा भाग लिन आइपुगेका थिए।
यी दुवै समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी भएका थिए भने आदित्यनाथको उपस्थितिमा काठमाडौँ सम्मेलनले उनलाई ‘विश्व हिन्दु सम्राट’को रुपमा सम्मान गरेको थियो।
आयोजक समितिले विवाहको मुख्य समारोहमा प्रमुख अतिथिको हैसियतमा प्रधानमन्त्री केपी ओली शर्मालाई बोलाएपनि उनको अस्वस्थताका कारण उनी त्यहाँ सामेल हुने संभावना निकै कम छ।
यो महामहोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निमन्त्रणा नगरिएको बुझिएको छ। अहिले प्राप्त सूचना अनुसार प्रदेश दुईका मुख्यमन्त्री मोहम्वद लालबाबु रावत योगी आदित्यनाथलाई स्वागत गर्ने तयारीमा छन्।
२ करोड भन्दा धेरै खर्च गरेर सीताराम विवाह महामहोत्सव आयोजना गर्ने तयारी भइरहेका बेला त्यहाँ कम्तीमा पनि १० लाख मानिस भित्रिने अपेक्षा आयोजकले गरेका छन्।
महोत्सवमा भारतीय दूतावासको सहयोगमा भारतबाट रामलिला र विभिन्न सांस्कृतिक टोली आउने आयोजकले बताए।