‘यार’ लिएर आइपुगे नयनराज पाण्डे

‘यार’ लिएर आइपुगे नयनराज पाण्डे
+
-

काठमाडौं- आख्यानकार नयनराज पाण्डेको नयाँ कृति ‘यार’को शनिबार विमोचन भयो। ‘यार’ मित्रहरुमाथि लेखिएको संस्मरणको संग्रह हो।

मित्रता बन्ने मात्र गर्दैन टुट्ने पनि गर्दछ। त्यही बन्ने अनि टुट्ने, फेरि जोडिने र भत्किने मित्रताका अनेक सम्झनाहरुलाई स्मृतिको गहिराइबाट टिपेर ल्याएका छन् नयनराज पाण्डेले ‘यार’मा।

संस्मरणका पाँच पात्रहरु सार्दूल भट्टराई, श्यामल, पुरुस्तोत्तम सुवेदी, जय हमाल र राजवले उक्त पुस्तक सँयुक्त विमोचन गरे।

प्रश्नोत्तर शैलीमा संचालन गरिएको उक्त कार्यक्रममा बोल्दै लेखिका शिवानीसिंह थारुले भनिन्, ‘सधैं आख्यान लिएर आउने नयनराज पाण्डे अहिले संस्मरणको सङ्गालो लिएर आएका छन्। तर ती संस्मरणहरु सनसनीपूर्ण कथाहरुभन्दा कम छैनन्। पाण्डेले संस्मरण ‘स्टोरी टेलिङ’को शैलीमा लेखेका छन्, जसले गर्दा “यार” पढिरहँदा कुनै कथा पढिरहेकोजस्तो लाग्छ।’

कार्यक्रममा बोल्दै लेखक पाण्डेले भने, ‘यारमा मैले आफ्ना साथीहरुसितका सुन्दरतम् या सुखदतम् पलहरुको कुरामात्र लेखेको छैन, कुरुप र दिगमिग लाग्दा क्षणहरुको कुरा पनि लेखेको छु। सम्बन्धको गरिमाको कुरा त लेखेकै छु, सम्बन्धविच्छेदका दिक्क लाग्दा कुराहरु पनि लेखेको छु । माया र प्रेमका कुरामात्र लेखेको छैन, घृणा र चोटका कुरा पनि लेखेको छु।’

उनले थपे, ‘यार’ लेख्न शुरु गर्दा मैले सोचेको थिएँ, म यसमा आफ्ना साथीहरु या साथीजस्ता मानेका आदरणीय अग्रजहरुका अनेक अनेक कमिकमजोरी खोतल्ने छु। ती सबै कमिकमजोरीलाई निडर भएर उजागर गर्नेछु। तर, मलाई के थाहा, अरुभित्रका कमजोरी खोज्दाखोज्दै मैले आफैंभित्र भेट्ने छु आफ्ना सहस्र कमजोरीहरु। त्यसैले यारको अन्त्यमा मैले लेखेको छु— यो किताब मेरो आफ्नै वजन जोख्ने तराजु पनि हो । मेरो लम्बाइ, चौडाइ र उचाइ नाप्ने इन्चीटेप पनि हो ।’

संस्मरण एक दम इमानदार भएर लेखेको भन्ने लेखकको दावीलाई स्वीकार्दै थारुले सोधिन्, ‘यत्तिको इमानदारिताका साथ साथीहरुबारे लेख्न कत्तिको गाह्रो भयो ?’

उत्तरमा पाण्डेले भने, ‘मेरा लेखक साथीहरु स्वयमले लेखक आफ्नो लेखनमा इमानदार हुनुपर्छ भन्नुहुन्छ । त्यसैले पनि मलाई इमानदार भएर लेख्न उति गाह्रो भएन।’

पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । हार्डकभरमा निक्लेको पुस्तकको मूल्य ४७५ रुपैयाँ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?