
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मेहनत गर्नुपर्ने बताएका छन्। अध्यक्ष दाहालले भने, ‘वाम गठबन्धनका लागि आगामी दिन सहज छैन। धेरै चुनौती छन्। त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ।’
राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेण्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइभन्दा बढी जनमत वामगठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मेहनतको परिणाम भएको बताए।
देशभक्त गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पष्ट पारे।
उनले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा (एमाले) र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए।
संविधान कार्यान्वयन गर्ने र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको शुरुवात् भएको धारणा राखे।
‘संविधान निर्माण भए पनि कार्यान्वयन हुँदैन कि, नेपाली जनताले पाएको अधिकार संस्थागत हुँदैन कि भन्ने नेपाली जनतामा ठूलो चिन्ता थियो, त्यो चिन्ता दूर भएको छ । राजनीतिक स्थायित्वको दिशामा मुलुक केन्द्रित भएको छ’, अध्यक्ष दाहालले भने।
सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुकका रुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उनले बताए।
कार्यक्रममा राजनीतिक शास्त्रका प्राध्यापक डा सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताए। उनले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा कला, संस्कृति र पत्रकारिताका माध्यमबाट समाजमा विशिष्ट योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई अध्यक्ष दाहालले सम्मान गरेका थिए।
आयोजक संस्थाका अध्यक्ष बाबा बस्नेतले समाजमा राम्रा काम गर्नेको सम्मान गर्ने संस्कारको विकासका लागि आफ्नो संस्थाले गत वर्षदेखि सम्मान गर्ने प्रचलन शुरु गरेको जानकारी दिएका थिए। (रासस)