
काठमाडौँ– सामाजिक सञ्जालको विस्तारले मानिसलाई पुस्तकभन्दा टाढा पुर्याएको साहित्यकार खगेन्द्र संग्रौलाले बताए। नेपाल लिटरेचर फेस्टिभल सन् २०१८ को घोषणा कार्यक्रममा साहित्यकार संग्रौलाले सामाजिक सञ्जालले बनाएको किताबसँगको दूरीलाई घटाउन यस्ता फेस्टिबल आवश्यक भएको बताए। नेपाल लिटरेचर फेस्टिभलको सातौँ संस्करण पोखरामा पुस ७ देखि १० सम्म हुँदै छ।
सामाजिक सञ्जाल विश्वमा मानिसको उपस्थिती जनाउने गतिलो माध्यम बनेकोमा यसको नराम्रो प्रयोग भएको औल्याउदै संग्रौलाले मानवलाई विवेकी बनाउने पुस्तकलाई सकेसम्म सबैको पहुँचमा पुर्याउनुपर्ने बताए। साहित्यकार संग्रौलाले लिटरेचर फेस्टिबल पाठकले लेखक भेट्ने र लेखकले पाठक भेट्ने उत्सव भएको पनि बताए।
वुकवर्म फाउन्डेशनको आयोजनामा सातौँ लिटरेचर फेस्टिबल पोखरामा हुन लागेको हो। जहाँ शब्दहरु जीवन्त हुन्छन् भन्ने नारासहित सन् २०११ मा पहिलो लिटरेचर फेस्टिबल ललितपुरको झम्सिखेलमा आयोजना भएको थियो। त्यही वर्षदेखि निरन्तर चल्दै आएको फेस्टिबलले यो पोखरामा कार्यक्रम आयोजना गर्दै छ। सुरुका ४ वर्ष काठमाडौँमा आयोजना भएको कार्यक्रम भूकम्प, नाकाबन्दीलगायतका समस्याले पोखरामा गर्न थालिएको फेस्टिबलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए।
कार्यक्रम आउँदो पुस ७ देखि १० गते सम्म पोखरामा हुँदैछ। फेस्टिबलमा तीन दिनमा ३० देखि ३५ सेसन हुने र एक सय भन्दा धेरै स्वदेशी, विदेशी लेखक सहभागी हुँदैछन्। बिदेशी लेखकमा पाकिस्तानका मोहम्मद हनिफ, भागरकी नमिता गोखले, बेलायतका डा. निकोला स्ट्रिटेन, क्यानडाकी मञ्जुश्री थापा, भारतका प्रज्वल पराजुली, हरिश नाम्बियरलगायत छन्। फेस्टिभललाई आइएमआईले प्रायोजन गर्दैछ।