
काठमाडौँ- भद्रकुमारी घले सेवा सदनको शनिबार राजधानीमा आयोजित १३औँ वार्षिकोत्सव, साधारणसभा तथा सम्मान कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका प्रतिभाहरुलाई सम्मान गरियो।
सेवा सदनका उपाध्यक्ष दुर्गा घलेको सभापतित्वमा भएको कार्यक्रममा भद्रकुमारी घले व्यक्तित्व पुरस्कारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा साहित्यकार बैरागी काइँलालाई सम्मान गरियो। सोही पुरस्कारबाट महिलातर्फ प्रज्ञा–प्रतिष्ठानकै पूर्व सदस्यसचिव गीता केशरीलाई सम्मान गरियो। दुवै पुरस्कारको राशि एक लाख रुपैयाँ छ।
त्यसैगरी, गीतकार तथा साहित्यकार गणेश रसिकलाई ५० हजार रुपैयाँ राशिको भद्रकुमारी घले कृतित्व पुरस्कार प्रदान गरियो। सोही पुरस्कार साहित्यकार तथा समाजसेवी शान्ता श्रेष्ठलाई पनि प्रदान गरियो।
त्यसैगरी १० हजार रुपैयाँ राशिका अन्य पुरस्कारबाट सम्मानित हुनेहरुमा साहित्यकार डा रामदयाल राकेश, डिल्लीराम मिश्र, महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, डा कृष्णप्रसाद दाहाल, नियात्राकार जय छाङ्छा, गंगा पौड्याल (कर्माचार्य), गोपीकृष्ण प्रसाईं, विजय थापा, प्रवीणकुमार श्रेष्ठ, विक्रम श्री, सुनिता राणा, इन्दिरा श्रेष्ठ (कमला), सगोत्री आचार्य, जयदेव भट्टराई, नरबहादुर मुडुला कार्कीलगायतका साहित्यकार, कलाकार तथा मूर्तिकारहरु छन्।
सोही राशिको पुरस्कारबाट पुरस्कृत अन्यमा हरिप्रसाद सोडारी, होमशंकर बास्तोला, श्रीराम श्रेष्ठ, दीर्घकुमारी गुरुङ, अम्बरबहादुर थापामगर, फूलोकुमारी चौधरी, बैरागी जेठा, मोहन कार्की, मधुसूदन पाण्डेय, रुकु कार्की, गंगा लिगललगायतका साहित्यकार, पत्रकार र समाजसेवी छन्।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व, साहित्यकार बैरागी काइँलाले आफूलाई पुरस्कृत गरिएकामा सेवा सदनलाई धन्यवाद दिँदै साहित्यकार भद्रकुमारी घलेले सेवा सदनमार्फत समाज सेवाका साथै साहित्य र संस्कृतिको संरक्षणमा योगदान गर्नुभएको बताए।
सेवा सदनका अध्यक्ष, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घलेले सेवा सदनबाट भएका सामाजिक तथा साहित्यिक गतिविधिबारे जानकारी दिइन्।
उनले आफ्नो समाज सेवाको इच्छाअनुसार बूढाबूढीका लागि एउटा अस्पताल खोल्ने चाहना भएकोमा सरकारी निकायबाटै नक्सापास हुन नसकेको गुनासो गरिन्। उनले भारतीय दूतावासद्वारा सहयोग गर्न वचन दिँदा पनि आफ्नै सरकारले नक्सापास गरी सहयोग गर्न नसकेको बताइन्।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व गणेश रसिक, गीता केशरी तथा शान्ता श्रेष्ठले भद्रकुमारी घले सेवा सदनबाट साहित्य र संस्कृति क्षेत्रमा भएका कार्यको प्रशंसा गरे। कार्यक्रमका प्रमुख अतिथि तथा गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले सेवा सदन र घलेले पुर्याएको सेवा अनुकरणीय रहेको बताए। (रासस)

