
पेरिस- वायुसेवा उत्पादक कम्पनी एयरबसले ताइवान र फ्रान्सबीचको वर्षौँ पुरानो मिसाइल बिक्री विवादमा आफूलाई १० करोड ४० लाख युरो जरिवाना तिर्न आदेश दिइएको जानकारी दिएको छ।
फ्रान्सको अहिलेसम्मकै सबैभन्दा ठूलो हतियार बिक्री विवाद सुल्झाउन यो निर्णय गरिएको जानकारी अधिकारीहरुले दिएका छन्। यो मिसाइल बिक्री काण्ड २५ वर्ष पुरानो हो।
तत्कालीन फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस मिटर्यान्डको पालाको यो विवादले तत्कालीन फ्रान्सलाई हल्लाएको थियो। यो घटनामा मिसाइल बिक्रीका क्रममा फ्रान्सले भ्रष्टाचार गरेको आरोप लागेको थियो।
एयरबसले मिसाइल बिक्रीमा सामेल आफ्नो कम्पनी ‘मात्रा डिफेन्स’ले तिर्नुअघि यो जरिवानाबारे अध्ययन गरिरहेको जानकारीसमेत शनिबार दिएको छ।
तीन महिनाअघि यही काण्डमा ड्यासल्ट एभिएसन, राडार आपूर्तिकर्ता थेल्स र इन्जिन बनाउने कम्पनी स्याफ्रानले पनि संयुक्त रुपमा २२ करोड ७० लाख युरो जरिवाना ताइवानलाई तिरेको बताएका थिए।
सन् १९९२ मा ताइवानलाई गलत प्रयोगका लागि फाइटर मिसाइल किन्न सहयोग गरेको आरोप यी कम्पनीहरुलाई लागेको थियो।
एयरबसका प्रवक्ताले भने यसलाई भ्रष्टाचार नभई व्यवसायिक विवाद भएको दाबी गरेका छन्। (एजेन्सी)