
लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा एभर्टनविरुद्ध दुई गोल गरेपछि हेरि केन घरेलु लिगमा टोट्टनहामका सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन्। केनले टोट्टनहामका लागि प्रिमियर लिगमा ९८ गोल गरेका छन्।
उनले टेडि सेरिङहामको नाममा रहेको ९७ गोलको कीर्तिमान तोडेका हुन्। सन्२०११ मा टोट्टनहाममा आबद्ध भएका २५ वर्षिय केनले सबै प्रतियोगितामा गरि यस क्लबका लागि एक सय ९३ खेल खेल्दै एक सय २७ गोल गरेका छन्।
टोट्टनहामको सर्वकालिन सर्वाधिक गोलकर्ताको कीर्तिमान भने जिम्मी ग्रिभ्सको नाममा छ। गिभ्सले दुई सय ६६ गोल गरेका छन्।
उनीभन्दा पछाडि रहेका बबी स्मिथले दुई सय आठ गोल गरेका छन्। इङ्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान एलान सियररको नाममा छ। सियररले दुई सय ६० गोल गरेका छन्।
वेन रुनीले दुई सय आठ, एन्ड्रियु कोलले एक सय ८७,फ्रान्क लाम्पार्डले एक सय ७७ र थिएरी हेनरीले एक सय ७५ गोल गरेका छन्।