
काठमाडौँ – प्रा.डा. गोविन्द केसीले बझाङका ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छन्। केसीले २ दिने स्वास्थ्य शिविरमा ४ सयभन्दा धेरै बिरामीको स्वास्थ्य जाँच गरेका छन्।
२ दिने स्वास्थ्य शिविरमा धेरैजसो महिला तथा बालबालिका सहभागी भएको जनाइएको छ। केही दिनअघि आफैँ बिरामी परेर अस्पताल भर्ना भएका डा. केसी स्वास्थ्यलाभपछि बझाङ गएका थिए।
केसीले १५औँ सत्याग्रहका क्रममा वि.सं. २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न अल्टिमेटम दिइसकेका छन्।
केसीले सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर चिकित्सा शिक्षा ऐन संसदबाट अविलम्ब पारित गर्न पनि माग दोहोर्याउँदै माग पूरा गर्नका लागि आगामी पुस २ गतेसम्मको समयसीमा दिएका छन्।