
दाङ–
घटना नं. १
कोइलावासमा पाँच कठ्ठा जग्गा बिक्री भयो। कुनै समय कौडीको भाउमा जग्गा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने कोइलावासमा प्रतिकठ्ठा चार लाख रुपैयाँको दरमा पाँच कठ्ठा जग्गा बिक्री भएको हो। कोईलावासमा जग्गा कारोवारीको नजर पर्न थालेको यस घटनाले पुष्टि गर्छ।
घटना नं. २
कोइलावासमा बैंक स्थापनाका लागि एक टोलीले अनुगमन गरेको छ। नेपाल टेलिकमले ल्याण्डलाइन फोन वितरणको तयारी गरेको छ। अनुगमन भइसकेको छ। कुनै समय नेपाल भारतको मुख्य नाकाको रुपमा परिचित कोइलावासलाई पाँच नम्बर प्रदेशको प्रमुख द्वार र आर्थिक केन्द्र बनाउन सकिने केही आशाको किरणको रुपमा यसलाई लिन सकिन्छ।
घटना नं. ३
लमही–कोइलावास सडक निर्माण सुरु भएपछि कोइलावासमा एट्याच बाथरुम सहितको होटल खुलेको छ। डेढ महिना अघिबाट कोइलाबासमा पाँच वटा कोठाको लज सहित सुविधासम्पन्न नारायणी होटल खुलेको हो। सामान्य चिया पसल मात्रै सञ्चालनमा रहेको कोइलावासमा लाखौं रकम खर्चेर होटल सञ्चालनमा आएपछि यसले कोइलावास पुर्नजाग्रित हुन थालेको संकेत गर्छ।
खण्डहर बनेको कोइलावास पुनर्जाग्रित हुन थालेको यी र यस्तै उदाहरणले प्रष्ट पार्छ। लमही–कोइलावास सडक निर्माण सुरु भएपछि कोइलावाससँग टुटेको नाता जोडिन थालेको हो। कोइलावासको भविष्य सकिएको भन्दै घरवास छाडेर बसाइ सरेकाहरु पुुनः आफ्नो घरजग्गा खोज्न थालेका छन्।
पुराना घर तथा भवनहरु भग्नावशेष बनेका छन्। यही भग्नावशेषवाट कोइलावास तङ्ग्रिने आशा गरिन थालिएको छ। ‘कोइलावासमा चहलपहल घटेपछि घर, जग्गा जमिन छोडेर अन्यत्र गएकाहरु अहिले फेरि आफ्नो घरवास हेर्न आउने गरेका छन्’, गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्धिकीले भने, ‘मानिसहरुको चहलपहल विस्तारै कोइलावासमा बढ्दै छ।’
पूर्व पश्चिम महेन्द्र राजमार्ग सञ्चालनमा आएपछि कोइलावास ओझेलमा परेको हो।
राजस्व संकलनको हिसावले अग्रणी कोइलावास भन्सार सुनसान छ। अव सडक निर्माण भएपछि र नियमित यातायातका साधन सञ्चालनमा आएपछि भन्सारमा चहलपहल आउने छ।
साविक गाविस हुँदा सचिवलाई भेट्न जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता थियो। अहिले जनप्रतिनिधि आइसकेपछि वडा अध्यक्ष कार्यालयमै भेटिन्छन्। ‘नागरिकताको सिफारिस, पञ्जीकरणको काम वडा कार्यालयवाट भइरहेको छ, म यही हुन्छु,’ वडा अध्यक्ष सद्दामले भने, ‘कोइलावासमा विगतमा बजेट आयो तर काम भएन। अब आएको बजेट सदुपयोग गर्न महिला नेतृत्वलाई अघि सारेको छु।’
पहिला एउटा सिंगो गाविस रहेको कोइलावास अहिले वडामा समेटिएको छ। यहाँ जनसंख्या अन्यत्रभन्दा निकै कम छ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ५ सय ४७ जना मात्रै मतदाता थिए। कोइलावासको विकास सडकसँग जोडिएको लमही नगरपालिका वडा नं. ५ निवासी राजेन्द्र अधिकारीले भने, ‘सडक बन्न थालेपछि सकारात्मक संचार कोइलावासमा पुगेको छ।’
वडाको बजेट ९० लाख
कोइलावासमा चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यो बजेट वडा कार्यालयले कार्यान्वयन गर्नेछ।
सीमा क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, खानेपानी योजनामा बढी केन्द्रित गरेको वडा अध्यक्ष सद्दाम सिद्धिकीले जानकारी दिए।
कोइलावासको मुख्य समस्या खानेपानी हो। यो समस्या समाधान गर्न अन्य कार्यक्रमसँग समन्वय गरिएको छ। सीमा विकास कार्यक्रमसँग समन्वय गरेर डिप बोरिङ गरी खानेपानीको समस्या समाधान गर्ने तयारी छ।

सुनसान कोइलावास बजार। तस्बिर: दशरथ घिमिरे